आज :

२० वर्षमा पनि पूरा भएन ३१ किलोमिटरको चक्रपथ

  • अनलाइन डबली

सुर्खेत । दुई दशकअघि निर्माण थालिएको वीरेन्द्रनगरको ३१ किलोमिटर चक्रपथ अझै पूरा भएको छैन । आर्थिक वर्ष २०६२÷ ६३ मा सुरु भएको आयोजनामा २०७८ सालसम्म २१ किलोमिटर ट्र्याक मात्र खुलेको थियो।

अहिले फेरि नयाँ ठेक्काबाट ४ दशमलव ३ किलोमिटर खण्डमा काम भइरहेको छ, जहाँ भौतिक प्रगति २० देखि २१ प्रतिशत मात्रै छ।

योजना सुरु भएको लामो समय बितिसक्दा पनि चक्रपथको ठूलो हिस्सा निर्माणकै पर्खाइमा छ। स्थानीयको जग्गा तथा घर सडकमा पर्ने विवाद, अदालतको आदेश र वन क्षेत्रका कारण विभिन्न खण्डमा काम रोकिँदै आएको हो। सुब्बाकुनादेखि अमृतडाँडासम्म करिब एक किलोमिटर सडक मात्र कालोपत्र भएको थियो।

पुरानो ठेक्का सकिएपछि नयाँ प्रक्रिया

लामो समयसम्म काम अघि बढ्न नसकेपछि पुरानो ठेक्काको अवधि पटक–पटक थपिएको थियो। आर्थिक वर्ष २०७९÷८० को असारमा सम्झौताको अवधि सकिएपछि पुरानो ठेक्काबाट बाँकी काम अघि बढ्न सकेन।

त्यसपछि नेवारे खोला–धुलियाबिट खण्डमा नयाँ ठेक्कामार्फत काम भइरहेको छ। पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार न्यू दीपक–लक्ष्मण जेभीसँग भ्याटसहित १७ करोड ४७ लाख ३४ हजार ३ सय ७८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ।

करिब ४.३ किलोमिटर सडक कालोपत्र गर्ने गरी गत आर्थिक वर्ष २०८२÷८३ मा सम्झौता भएको हो। ठेक्काको अवधि तीन वर्ष रहेको छ।

४.३ किलोमिटरमा २१ प्रतिशत काम

निर्देशनालयका इन्जिनियर अजितकुमार थापाका अनुसार निर्माणाधीन खण्डमा हाल २० देखि २१ प्रतिशत भौतिक प्रगति भएको छ। एउटा स्ल्याब कल्भर्ट निर्माण सम्पन्न भएको छ भने दुईवटा बक्स कल्भर्ट निर्माणाधीन छन्। नाली निर्माणको काम पनि भइरहेको छ।

सडकसँगै पाँचवटासम्म बक्स कल्भर्ट, दुईदेखि तीनवटा स्ल्याब कल्भर्ट, ग्याबिन तथा रिटेनिङ वाल निर्माण गर्नुपर्नेछ।

बाँकी खण्डको काम अझै प्रक्रियामै

३१ किलोमिटर चक्रपथमध्ये ट्र्याक खोलिएको भागमा स्तरोन्नति र कालोपत्र गर्नुपर्ने तथा ट्र्याक नै खोल्न बाँकी स्थानमा नयाँ निर्माण गर्नुपर्ने अवस्था छ।

बाँकी खण्डमा एलाइनमेन्ट, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन गर्नुपर्नेछ। यी प्रक्रिया पूरा भएपछि मात्र निर्माण अघि बढाउन सकिनेछ।

डीपीआर तथा वातावरणीय अध्ययनको काम विश्व बैंकको सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम(पीएलआरआईपी) मार्फत अघि बढाउने तयारी छ। बाँकी खण्डका लागि बजेटको व्यवस्था भए पनि निर्माण सुरु हुने निश्चित मिति भने तय भएको छैन। चक्रपथको रुट सुब्बाकुनाबाट घुस्रा हुँदै वीरेन्द्रनगर उपत्यकाको दक्षिण भागबाट बाङ्गेसिमलसम्म जोडिने गरी अघि बढाइएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal