काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन र निरीक्षण कार्यलाई तीव्र बनाएको छ । यसै क्रममा २०८३ असोज ६ गते विभाग, डिभिजन कार्यालय काठमाडौँ, स्थानीय तह तथा प्रहरीको संयुक्त टोलीले काठमाडौंका चन्द्रागिरी नगरपालिका र स्वयम्भु क्षेत्रका चारवटा खाद्य उद्योग एवम् व्यवसायहरूमा अनुगमन तथा कारबाही गरेको छ ।
चन्द्रागिरी नगरपालिका–१५, ढुंगेअड्डास्थित श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डारमा अनुगमन गर्दा अनुमतिपत्र नलिई म्याद नाघेका, लेभल नभएका र किरा परेका कच्चा पदार्थ प्रयोग गरी गुदपाक र पुष्टकारी बनाउने गरेको भेटिएको छ । उद्योगले म्याद नाघेको चकलेटमा नयाँ लेभल लगाएर बिक्री गर्ने गरेको तथा लेभलमा उल्लेख गरिएका मुख्य सामग्रीहरू (खुवा, नरिवल, काजु, बदाम आदि) नभई अखाद्य वस्तुको प्रयोग गर्ने गरेको पाइएको छ ।
टोलीले त्यहाँबाट म्याद नाघेको चिउरा, चकलेट, बिस्कुट, किरा परेको चना, पीठो, स्किम मिल्क पाउडर, चामलको पीठो र तयारी अखाद्य गुदपाक तथा पुष्टकारी गरी करिब २ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री जफत गरी नष्ट गरेको छ । उद्योगको उत्पादन र बिक्री वितरण रोक्का राखी नमुना परीक्षणका लागि पठाइएको छ भने उद्योग शिलबन्दी गरिएको छ ।
यसैगरी, सोही स्थानमा रहेको बज्रबाराही भण्डारमा पनि सरसफाइ सन्तोषजनक नरहेको, एउटै कोठामा प्रशोधन र प्याकेजिङ गर्ने गरिएको तथा अनुमतिपत्र नलिई शंकास्पद कच्चा पदार्थ (चिउरा, मैदा) प्रयोग गरी उत्पादन गर्ने गरेको पाइएको छ । अनुगमन टोलीले त्यहाँबाट १ लाख ४० हजार रुपैयाँ बराबरको करिब ३५० केजी अखाद्य तयारी वस्तु जफत गरी नष्ट गर्नुका साथै नमुना संकलन गरी उद्योग शिलबन्दी गरेर उत्पादन तथा बिक्री वितरण रोकेको छ ।
यस्तै, स्वयम्भुस्थित श्री सस्तो बास्केट पसलमा नक्कली डेट कोड र लेभल लगाई बिक्री गर्ने गरेको उजुरीका आधारमा छापा मार्दा अव्यवस्थित भण्डारण, अनुमतिविना खुद्रा प्याकिङ र म्याद नाघेका सुजी, ब्रेड क्रम्ब, थाइम र राजमा भेटिएपछि ती सामग्री नष्ट गरिएको छ ।
पसल सञ्चालकलाई म्याद नाघेका वस्तुका लागि अलग्गै भण्डारण क्षेत्र बनाउन निर्देशन दिँदै ७ दिनभित्र विभागमा उपस्थित हुन आदेश दिइएको छ । यसै क्रममा स्वयम्भुमै रहेको यति आइस प्रा. लि. ले अर्कै वडाको दर्तामा व्यवसाय सञ्चालन गरेको, विभागबाट अनुमति नलिई आइस क्युब उत्पादन गरेको र प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका, २०७४ को पालना नगरेको पाइएकाले सो उद्योगको पनि सम्पूर्ण उत्पादन तथा बिक्री वितरण रोक्का राखी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।


अनलाइन डबली

