आज :

‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ : प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नयाँ भनिएको सरकारका क्रियाकलापबाट जनतामा रहेको भ्रम बिस्तारै चिर्दै गएको दाबी गरेका छन् ।

शुक्रबार अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले स्थापित पार्टी र नेताहरूका एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बताएका हुन् ।

उनले भने, ‘हामीलाई विश्वास छ, अहिले केही महिनाभित्रै ‘नयाँ’ भनिएको सरकारका क्रियाकलापले जनतामा बिस्तारै जुन भ्रम जस्तो भएको थियो, त्यो अब चिरिँदै छ । जुन भ्रम थियो, त्यो च्यातिँदै छ । र एउटा नयाँ ढङ्गले फेरि स्थापित पार्टीहरू, स्थापित नेताहरू, उनीहरूका एजेन्डाहरूप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै छ ।’

प्रचण्डले आफूहरू देशका विभिन्न क्षेत्रमा पुग्दा नेपाली कम्युनिस्ट पार्टीप्रति जनताको आकर्षण बढिरहेको महसुस गरेको बताए ।

उनले कम्युनिस्ट आन्दोलनलाई अझै एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै अन्य कम्युनिस्ट घटक तथा वामपन्थी शक्तिसँग सहकार्य र एकताको प्रक्रिया अगाडि बढाइरहेको बताए ।

उनका अनुसार पुराना पुस्ताका नेतासँगै नयाँ पुस्ता र युवालाई समेत समेटेर राजनीतिक चुनौतीको सामना गर्ने प्रयास भइरहेको छ।

प्रचण्डले सदनभित्र सबै प्रतिपक्षलाई एक ठाउँमा ल्याएर संयुक्त रूपमा आवाज उठाउने र सडकमा पनि व्यापक संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पार्ने र त्यहाँ संयुक्त रूपले आवाज उठाउने, बिस्तारै सडकबाट जनतामा जसरी सुकुम्बासीहरू, मजदुरहरू, किसानहरू, विद्यार्थीहरू, बुद्धिजीवीहरू, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित ‘नयाँ’ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ।’

उनले विभिन्न पार्टी, बुद्धिजीवी तथा नागरिक समाजसँग यस विषयमा निरन्तर छलफल भइरहेको र सकारात्मक दिशामा कुरा अगाडि बढिरहेको बताए।

चाडपर्वको अवधिमा संगठनात्मक तयारी पूरा गरेर चाडपर्वपछि देशको परिस्थिति हेरी नयाँ आन्दोलन अघि बढाउने उनको भनाइ थियो ।

प्रचण्डले विगतमा आफूहरूले गरेका कामको सही मूल्याङ्कन हुनुपर्ने बताउँदै कमजोरीको पनि मूल्याङ्कन गर्नुपर्ने बताए ।

‘हाम्रा कमजोरीको पनि सही मूल्याङ्कन हुनुपर्यो र राम्रा कामहरू पनि सही मूल्याङ्कन भएर जनतालाई भन्न सक्नुपर्यो,’ उनले भने।

उनले कृषि क्षेत्रलाई नेपालको आर्थिक विकासको आधारका रूपमा प्रस्तुत गर्दै कृषिको आधुनिकीकरण, व्यापारीकरण र विविधीकरणबाट मात्रै औद्योगिकीकरण तथा समृद्धिको जग बस्न सक्ने बताए ।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा कृषि क्षेत्रमा लगानी बढाउने र किसानलाई उत्प्रेरित गर्ने विषयलाई प्राथमिकता दिएको दाबी गरे । उनले आफ्नो भारत भ्रमणका क्रममा मुर्रा भैँसी ल्याउने निर्णय पनि किसानको जीवनमा परिवर्तन ल्याउने उद्देश्यसँग जोडिएको बताए।

प्रचण्डले आफूहरूको नेतृत्वमा भएका राम्रा काम जनतामाझ स्पष्ट रूपमा लैजानुपर्नेमा जोड दिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal