आज :

भोटेकोसी बाढीपछि कर्णालीका २०८ जना अझै सम्पर्कविहीन

  • अनलाइन डबली

सुर्खेत । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि कर्णाली प्रदेशका २०८ जना अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेका कर्णालीका २६५ जनाको विवरण प्राप्त भएको थियो । तीमध्ये ५७ जना परिवारको सम्पर्कमा आएका छन् भने बाँकी २०८ जनाको अवस्था अझै अज्ञात छ ।

सम्पर्कविहीन हुनेमा अधिकांश रोजगारीका लागि रसुवा र नुवाकोट पुगेका तथा त्यहाँका विभिन्न जलविद्युत आयोजनामा कार्यरत मजदुर रहेको प्रहरीले जनाएको छ । बाढीका कारण उनीहरूसँग परिवार तथा आफन्तको सम्पर्क टुटेको हो ।

जुम्लाका ९० जना सम्पर्कविहीन

प्रदेश प्रहरी कार्यालयको पछिल्लो अध्यावधिक विवरणअनुसार सबैभन्दा धेरै जुम्लाका नागरिक सम्पर्कविहीन भएका छन् । जुम्लाका ९० जना पुरुष अझै परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

यस्तै, सल्यानका ५५ जना सम्पर्कविहीन छन् । सल्यानबाट ४१ पुरुष, ११ महिला, दुई बालक र एक बालिका सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

सुर्खेतका १७ जना सम्पर्कविहीन छन् । तीमध्ये १६ पुरुष र एक महिला छन् । दैलेखका चार पुरुष र एक महिला गरी पाँच जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

जाजरकोटका दुई पुरुष र एक महिला गरी तीन जना पनि अझै परिवारको सम्पर्कमा आएका छैनन् ।

कुन जिल्लाबाट कति जना सम्पर्कविहीन ?

प्रहरीका अनुसार रुकुम पश्चिमका पाँच पुरुष, चार महिला र एक बालिका गरी १० जना सम्पर्कविहीन छन् । हुम्लाका चार पुरुष, दुई महिला र एक बालिका गरी सात जनाको अवस्था अज्ञात छ ।

त्यस्तै, डोल्पाका एक पुरुष र एक महिला गरी दुई, मुगुका आठ पुरुष, चार महिला र एक बालक गरी १३ तथा कालीकोटका तीन पुरुष, दुई महिला र एक बालक गरी ६ जना अझै परिवारको सम्पर्कमा आएका छैनन् ।

जिल्लागत विवरणअनुसार सम्पर्कविहीन हुनेमा पुरुषको संख्या उल्लेख्य रूपमा बढी छ । बाढी प्रभावित क्षेत्रमा रोजगारीका लागि पुगेका श्रमिक तथा जलविद्युत आयोजनामा कार्यरत व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले प्रयास जारी राखेको जनाएको छ ।

विवरणमा तलमाथि हुन सक्ने प्रहरीको भनाइ

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेका व्यक्तिहरूको विवरण संकलन तथा अध्यावधिक गर्ने काम भइरहेको बताए ।

उनका अनुसार विभिन्न माध्यमबाट सम्पर्कविहीन व्यक्तिको विवरण प्राप्त भइरहेकाले संख्या तलमाथि हुन सक्ने सम्भावना छ ।

‘बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण दिन आग्रह गरिएको छ । नयाँ विवरण प्राप्त हुने र केही व्यक्ति परिवारको सम्पर्कमा आउने क्रम जारी रहेकाले संख्यामा तलमाथि हुन सक्छ,’ प्रवक्ता राठौरले भने ।

प्रहरीले सम्पर्कविहीन व्यक्तिबारे कुनै नयाँ जानकारी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा सुरक्षा निकायलाई जानकारी गराउन परिवार तथा आफन्तलाई आग्रह गरेको छ ।

हेमन्त केसी, नेपाल न्यूज बैंक

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal