
काठमाडौं । द हिडन ट्रेजर प्रालिका अध्यक्ष अजय रत्न स्थापितले मिस नेपाल २०२६ का फाइनलिस्टहरूलाई नेपालका राजदूतका रूपमा आफूलाई प्रस्तुत गर्न आग्रह गरेका छन्।
मंगलबार आयोजित कजरिया मिस नेपाल २०२६ ‘स्याश सेरेमोनी’ कार्यक्रममा बोल्दै स्थापितले प्रतियोगीहरूले अब व्यक्तिगत पहिचानभन्दा माथि उठेर नेपाल, नेपाली विविधता, लचिलोपन र आशाको प्रतिनिधित्व गर्ने बताए।
‘तपाईंहरू विभिन्न प्रदेश, भाषा र पृष्ठभूमिबाट आउनुभएको छ, तर आजदेखि तपाईंहरूले एउटै पहिचान साझा गर्नुहुन्छ । तपाईंहरू नेपालका राजदूत हुनुहुन्छ,’ उनले भने।
उनले आगामी दिनमा प्रतियोगीहरूको मूल्यांकन केवल मञ्चमा मात्र नभई तालिम, सामुदायिक गतिविधि र व्यक्तिगत व्यवहारमार्फत पनि हुने उल्लेख गरे। ‘तपाईंलाई महत्त्वपूर्ण लाग्ने विषयमा बोल्नुहोस्, अरूलाई सुन्नुहोस् र एकअर्कालाई सहयोग गर्नुहोस्। प्रतिस्पर्धा स्वस्थ हुन्छ, तर दिदीबहिनीको सम्बन्ध अझ शक्तिशाली हुन्छ,’ उनले भने।
स्थापितले मिस नेपाललाई ताज जित्ने प्रतिस्पर्धाभन्दा ठूलो अभियानका रूपमा व्याख्या गरे।
‘मिस नेपाल सधैं एउटा मञ्च हो, गन्तव्य होइन। अन्तिममा ताज लगाउनुहोस् वा नलगाउनुहोस्, तपाईंहरूसँग पहिले नै एउटा आवाज, एउटा मञ्च र एउटा कर्तव्य छ,’ उनले बताए।
तीन दशकभन्दा बढी समयदेखि द हिडन ट्रेजरले सौन्दर्यलाई केवल बाहिरी रूपसँग नजोडेको उल्लेख गर्दै उनले सहानुभूतिसहितको बुद्धि, नम्रतासहितको आत्मविश्वास र सेवासहितको महत्वाकांक्षालाई वास्तविक सौन्दर्यको परिभाषा भएको बताए।
यस वर्षको नारा ‘टप अफ द वल्र्ड’ केवल कुनै गन्तव्यमा पुग्ने विषय नभई त्यहाँसम्म पुग्न आवश्यक पर्ने संघर्ष, साहस, दृढता र लचकताको प्रतीक भएको उनको भनाइ थियो।
कार्यक्रममा उनले प्रतियोगीहरूलाई ‘स्याश’ केवल एउटा फित्ता नभई जिम्मेवारी, अनुशासन र नेतृत्वको प्रतीक भएको स्मरण गराए।
‘जब तपाईं आफ्नो स्याश लगाउनुहुन्छ, यसले तपाईंलाई सम्झाओस् कि तपाईं आफूभन्दा ठूलो उद्देश्यको हिस्सा हुनुहुन्छ,’ उनले भने।
अभिभावक, प्रायोजक तथा साझेदारप्रति आभार व्यक्त गर्दै स्थापितले यस्ता कार्यक्रमले भविष्यमा नेपाललाई विभिन्न क्षेत्रमा नेतृत्व गर्ने महिलाहरू उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले २४ जना फाइनलिस्टहरूलाई बधाई दिँदै साहसका साथ आफ्नो यात्रा अघि बढाउन आग्रह गरे। ‘नेपालले तपाईंलाई हेरिरहेको छ, समर्थन गरिरहेको छ र विश्वास गरिरहेको छ। तपाईंहरू आफ्नै शिखर चढ्न र नेपालको साँचो राजदूत बन्न सफल हुनुहोस्,’ उनले भने।


अनलाइन डबली

