
काठमाडौं । मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभरका मस्जिदमा मनाइदै छ ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।
किन मनाइन्छ बकर ईद ? के छ महत्त्व ?
मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद आज धूमधामका साथ मनाइदैछ । मुस्लिम धर्मावलम्बीहरूले मनाउने यो दोस्रो ठुलो महान् पर्व हो । बकरा ईद (इद–उल–अजहा) पैगम्बर हजरत इब्राहिमले अल्लाह (ईश्वर) प्रति देखाएको अटल निष्ठा र बलिदानको सम्झनामा मनाइने गरिन्छ ।
यस पर्वमा आफ्नो सबैभन्दा प्रिय वस्तु वा चौपायाको ‘कुर्बानी’ (बलिदान) दिने र दान गर्ने परम्परा रहेको छ । जनकपुरधामका स्थानीय जानी खानका अनुसार इस्लामिक धार्मिक ग्रन्थ कुरानमा, पैगम्बर हजरत इब्राहिमलाई अल्लाहले सपनामा उनको सबैभन्दा प्यारो चिजको बली (कुर्बानी) दिन आदेश दिएका थिए । हजरत इब्राहिमलाई आफ्ना छोरा इस्माइल सबैभन्दा प्यारो लाग्दथ्यो ।
अल्लाहको आदेश शिरोधार्य गर्दै उनी आफ्ना छोरालाई बलि दिन तयार भए । अल्ला इब्राहिमको त्यो उच्च निष्ठा र समर्पण देखेर प्रसन्न भई अल्लाहले इस्माइललाई कुनै चोट नपुगोस् भनी उनको स्थानमा एउटा दुम्बा (भेडा) को बलि पठाएका थिए । यही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो ।
यो पर्वले मानिसलाई आफ्नो अहम्, स्वार्थ र सबैभन्दा प्रिय वस्तु समेत त्याग गर्न प्रेरित गर्ने बताउँछ स्थानीय खान । कुर्बानी गरिएको मासुलाई धार्मिक मान्यता अनुसार तीन भाग लगाइन्छ । एक भाग गरिब तथा विपन्नहरूलाई, एक भाग इष्टमित्र तथा आफन्तलाई र अन्तिम एक भाग आफ्नो परिवारका लागि छुटाउनुपर्ने नियम छ ।
यसले समाजमा समता, भाइचारा र दानको भावना जागृत गर्छ । आजको दिन बिहानै सफा कपडा लगाएर इदगाह वा मस्जिदमा भेला भई विशेष नमाज (प्रार्थना) पढिन्छ र एक–अर्कालाई अङ्कमाल गरेर ‘इद मुबारक’ भन्दै शुभकामना आदानप्रदान गरिन्छ ।


अनलाइन डबली

