
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूलाई दया नभइ क्षमता, सहभागिता र पहुँचका आधारमा समाजमा स्थापित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा र राजनीतिक सहभागिता प्रवद्र्धन’ कार्यक्रममा सहभागि भएका दलका नेताहरुले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, राजनीतिक सहभागिता र गाउँसम्म अपाङ्गमैत्री संरचना विस्तार गर्न आवश्यक रहेको बताएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा सम्मानसहित सहभागिता गराउन आवश्यक रहेको बताएका छन्।
उनले अपाङ्गता भएका व्यक्तिहरू संवेदनशील समुदाय भएकाले उनीहरूलाई प्रोत्साहन, सहभागिता र क्षमता विकासका माध्यमबाट अगाडि बढाउनुपर्ने बताए।
उनले भने, ‘अपाङ्गता भएका व्यक्तिहरू निकै संवेदनशील हुन् । तिनलाई एक किसिमले प्रोत्साहन गर्ने, सहभागी गराउन उत्साहित गर्ने यस्ता कार्यक्रमहरू राम्रो छन् । सहभागिता मानिसलाई अगाडि बढाउने बटम लाइन हो तर सम्पूर्ण कुरा होइन । सहभागितासँगै क्षमता विकास गर्ने, क्षमता वृद्धि गर्ने र पहुँच स्थापित गर्ने कुरा महत्वपूर्ण हो । सरकारमा उसको सहभागिता भए उसले आफ्नो वर्ग र समुदायको कुरा उठाउँछ । सहभागिता, क्षमता विकास र पहुँच स्थापित गर्ने कुरा सँगै लैजान जरुरी छ ।’
यस्तै, सांसद केपी खनालले अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजको दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताए।
उनले अपाङ्गता भएका व्यक्तिहरूलाई केवल दया र करुणाको दृष्टिले हेर्ने परम्परा अझै समाजमा कायम रहेको उल्लेख गर्दै उनीहरूको क्षमता र सम्भावनालाई अघि ल्याउनुपर्ने बताए।
खनालले गाउँ–सहरबीच अपाङ्गमैत्री पूर्वाधार विकासमा ठूलो अन्तर रहेको उल्लेख गर्दै गाउँ क्षेत्रमा अझै पनि अपाङ्गमैत्री सडक, भवन तथा सार्वजनिक संरचनाको अभाव रहेको बताए।
उनले भने, ‘अपाङ्गता भएका व्यक्तिहरू केवल दयाका लागि होइन, उहाँहरूको क्षमतालाई प्रस्तुत गर्ने ठाउँ पनि आवश्यक छ । जबसम्म समाजले उहाँहरूलाई समान क्षमता भएका नागरिकको रूपमा हेर्न सक्दैन, तबसम्म हाम्रो बहस केवल कोठामै सीमित हुन्छ ।’
उनले आफूले बाल्यकालदेखि गाउँमा अपाङ्गता भएका व्यक्तिहरूलाई दयाको पात्रका रूपमा मात्र देखेको अनुभव सुनाउँदै समाजको सोच परिवर्तन गर्न अबको पुस्तालाई जागृत गर्नुपर्ने आवश्यकता औँल्याए ।


अनलाइन डबली

