आज :

गुरुहरुप्रति समर्पित गर्दै “नेवाः समुदायका परम्परागत मुकुण्डाेनाच” कृति लोकार्पण

  • अनलाइन डबली

काठमाडौँ, जेठ ३ गते । २०२३ सालदेखि नेपालको मुकुण्डोनाच लगायतका नृत्य संस्कृतिको अनुसन्धानमा जीवन अर्पण गर्नुभएका नृत्यकलाविद वीणा जोशी (राजभण्डारी)को कृति ‘नेवार समुदायको परम्परागत मकुन्डोनाच’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

आइतबार काठमाडौँमा यल नेवाः समाजको आयोजनामा सम्पन्न यस विशेष कार्यक्रममा झण्डै १५ सय पृष्ठको उक्त पुस्तकका लेखककी सय वर्षीया आमा गङ्गादेवी राजभण्डारीसँगै उपत्यकाका बिभिन्न जातिका परम्परागत नृत्यकलाका १५ जना नेवाः गुरुहरुबाट संयुक्त रुपमा सार्वजनिक गर्दै लोकार्पण गरिएको थियो । ङ्यत भुलु अजिमाका मुलगुरु देवकृष्ण महर्जन, किलागलको देवीनाचका मुलगुरु ब्रम्हु महर्जन, सिकाली प्याखंका मुलगुरु महन्तलाल डङ्गोल, जल प्याखंको मुलगुरु धनबहादुर महर्जन, कीर्तिपुरको इन्द्रायणी देवी प्याखंको मुलगुरु बेखालाल माली, ठेच्वको इन्द्रायणी देवीको नाचका मूलगुरु धर्मराज माली, काठमाडौँ गथुप्याखंका नृत्यगुरु सूर्यनारायण मालाकार, ललितपुर कार्तिक नाच परम्परागत गुरु प्रतापधर शर्मा, संस्कृत शिरोमणि हरिराम जोशी, चर्या सङ्गीतविद् यज्ञमानपति बज्राचार्य, ललितपुर चर्या नृत्यगुरु पदमराज बज्राचार्य, ललितपुर चर्या नृत्यगुरु हेमबज्र बज्राचार्य, आधुनिक रङ्गमञ्च नाचका गुरु रमा मास्के राजवाहक, दाप्चा तल्लो हदियाको नाचगुरु रामेश्वर श्रेष्ठलगायतले पुस्तक एकसाथ सार्वजनिक गर्नुभएको हो ।

नेवाः समुदायको लोपोन्मुख मुहाली (केहीले सहनाइ भन्ने गर्दछन) बाजाको धुनबाट शुरुवात गरिएको उक्त कार्यक्रममा नृत्यकलाका गुरुहरुको महत्वलाइ सर्वोच्चतामा स्थापित गर्नुहुँदै लेखक स्वयंले गुरु वन्दना नृत्य प्रस्तुतिमार्फत दिवंगत गुरुदेखि आमन्त्रित गुरुहरु तथा बिशिष्ट अतिथि र दर्शक वर्गप्रति सम्मान प्रकट गरेकी छिन । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लेखक जोशीले शुरुमा नेपालभरका सबै जातजातिको अनुसन्धान गर्ने योजना बनाएको भए पनि त्यो सम्भव नभएपछि कमसेकम आफ्नो नेवाः समुदायको मकुन्डो नाचमा अध्ययनलाइ केन्द्रित गरेको बताउनुभयो ।

उहाँले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि नृत्यमा विभिन्न आयाम थपिएको उल्लेख गर्नुहुँदै २०१६ सालदेखि मात्र केटी अर्थात् युवतीलाई नाच्न दिएको कुरा सम्झना गर्नुभयो । उहाँले नेवाः समुदायको नृत्य परम्परा केवल मनोरञ्जनकालागि मात्र स्थापित नभै यसमा सभ्यताको ईतिहास, समुदायको आस्था, श्रद्धा समेटिएको जीवित सांस्कृतिक सम्पदा रहेकोमा जोड दिनुभयो । यसमा कला, मिथक, धर्म र सामुदायिक जीवन एकसाथ जोडिएको आफ्नो निष्कर्ष रहेको र पौराणिक स्वर्गका देवदेवीहरूनै रम्ने खालको गौरव बोक्ने रङ्गशालाको रुपमा उपत्यकाको महत्व रहेको बताउनुभयो । नृत्यकला शारीरिक मात्र नभएर मानसिक व्यायाम भएको तथ्यलाइ उजागर गर्नुहुँदै आफ्ना ६ वर्षिया नातिनातिनाहरुले समेत पुस्तक नसकाए ती मासिनेछन् भन्ने अनुरोधलाइ पछिल्लो प्रेरणाको श्रोत मानेर आफ्नो अध्ययनलाइ पुस्तककार दिएको बताउनुभयो । आजको शिक्छित युवापुस्ताको संस्कृतिप्रेमलाइ थप अध्ययन सहित संरक्षण अभियानमा भावीपुस्तालाइ सहयोगी हुने अपेक्षा रहेको जनाउनु भयो । ८१ वर्षिया लेखक जोशीको लगनशीलता, नृत्यकलासँगै यस विषयको एतिहासिक र व्यवहारिक सामाजिक पक्षको अनुसन्धानात्मक सोधखोजको सक्रियताको चर्चा गर्दै संस्कृति शिरोमणि हरिराम जोशी र नृत्यकला तथा चर्यानृत्यविद यज्ञमानपति बज्राचार्यज्यु तथा प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीज्युले यस संग्रहयोग्य पुस्तकको समीक्षासहित प्रशंसा गर्नुभएको थियो । १७ खण्डमा बिभाजन गरिएको यस पुसतककको पहिलो खण्डमा ऐतिहासिक परिपेक्ष्यमा नाच, नेवार समुदायको परम्परागत मुकुन्डोनाचका रङ्गभूमि, रङ्गकर्मी नेवारको संक्षिप्त चिनारी र नेपाल उपत्यककामा नृत्यको इतिहास र यसका आयाम बारे लेखिएको छ । दोस्रो खण्डमा नेवार समुदायको परम्परागत मुकुन्डोनाच प्रस्तुत गरिने सन्दर्भबारे उल्लेख गरिएको छ भने तेस्रो खण्डमा पात्र परिचय समेटिएको छ । चौथो खण्डमा शास्त्रीय नर्तन प्रविधि र पाँचौँ खण्डमा चर्यानर्तन पद्धति समेटिएको छ ।

त्यसैगरी कात्तिक नाच, गथु प्याखँ, देवीनाचलाई क्रमश छैटौं, सातौं र आठौं खण्डमा समेटिएको छ । पुस्तकको नवौ खण्डमा भक्तपुर थिमीका महाकालीनाचको चर्चा गरिएको छ । दशौँ खण्डमा बोद्यको नीलवाराहीनाच, एघारौँ खण्डमा भैरवनाच र बाह्रौँ खण्डमा श्वेतकालीनाच समेटिएका छन् । जल, हर वा हरसिद्धिनाच तेहौँ खण्डमा राखिएको छ भने चौधौँ खण्डमा सिकालीप्याखं अर्थात् रुद्रायणीनाच समेटिएको छ । हलचोकको आकाशभैरवनाच अर्थात् सवःभकुप्याखं पन्धौँ खण्डमा समेटिएको छ भने सोहौँ खण्डमा लाखम् नाच र सत्रौँ खण्डमा भक्तपुरको माकः प्वाखं एवम् बाग्लुङ, बेनी र कुस्माका हनुमान्नाच समेटिएका छन् ।

वरिष्ठ सञ्चारकर्मी सिल्भिया राजोपाध्यायले सञ्चालन गर्नुभएको सो कार्यक्रममा यल नेवाः समाजका अध्यक्ष नानुकाजी शाक्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रतिष्ठित वाद्यवादक टोली सहित नृत्य कलाकारहरुले नेवाः समुदायकाे आर्यावलोकितेश्वर र बज्रयोगिनी चर्यानृत्य, भैल प्याखँ र नागाचा प्याखँ नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal