आज :

पूर्वसहकर्मीहरुको प्रतिस्पर्धाले तताएको कर्णालीका चार निर्वाचन क्षेत्र

  • अनलाइन डबली

खगेन्द्र भट्टराई-
सुर्खेत । २१ फागुनको प्रतिनिधिसभा चुनावमा कर्णालीका चार वटा निर्वाचन क्षेत्र विशेष चर्चामा छ । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतका दुई निर्वाचन क्षेत्रसहित कालिकोट र रुकुम पश्चिमको निर्वाचनमा आम कर्णालीवासीको ध्यान तानेको छ । सुर्खेतका सदाबहार उम्मेदवार नेपाली काँग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का र पूर्व केन्द्रीय सदस्य हृदयराम थानी उम्मेदवार नभए पछि यहाँको निर्वाचन परिणाम के होला भन्ने चर्चा छ । एक एक निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिम र कालिकोटमा पूर्व सहकर्मीहरूको प्रतिस्पर्धाले चर्चा पाएको छ ।
कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही र नेकपा माओवादीका खड्काबहादुर विश्वकर्मा र रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुर्वमन्त्री जनार्दन शर्मा र नेकपाबाट शर्माकै कार्यकर्ता गोपाल शर्मा आमनेसामने छन् । जनार्दनले तत्कालीन नेकपा माओवादी पार्टी परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका हुन् । पूर्व सहकमर्कीहरुको प्रतिस्पर्धा र काँग्रेसका ‘हेवीवेट’ खड्का र थानीको उम्मेदवारी विनाको निर्वाचनले धेरैको ध्यान खिचेको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकमा २०४८ सालदेखि उम्मेदवार बन्दै आएका नेपाली काँग्रेसका पूर्व उपसभापति खड्का र २०५१ सालबाट सुर्खेत क्षेत्र नम्बर दुईबाट उम्मेदवार बन्दै आएका पूर्व केन्द्रीय सदस्य थानी यो पटकको चुनावमा उम्मेदवार छैनन् । नेपाली काँग्रेसबाट दुवै जनाले चुनाव लड्दै आएका थिए । २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा निर्वाचितका खड्का २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद भए । २०७४ सालको निर्वाचनमा बाम गठबन्धन हुँदा एमालेका धुव्रकुमार साहीसँग पराजितका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन, २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भई फेरि संसद् प्रवेश गरे ।
पूर्व मन्त्री थानी २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ गरी ६ वटा निर्वाचनमा उम्मेदवार बनेका थानीले २०५६, २०६४ र २०७९ सालमा निर्वाचन जितेर सांसद भएका थिए भने २०५१, २०७० र २०७४ मा हार व्यहोरेका थिए । अहिले सुर्खेत एकबाट खड्काका भाइ विष्णुबहादुर खड्का र दुईबाट थानीका विश्वासपात्र नारायण कुमार कोइराला उम्मेदवार बनेका छन् ।
यी दुवै क्षेत्रमा काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका उम्मेदवारले चुनौती दिएका छन् । सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा काँग्रेसको साङ्गठनिक पकड बलियो भए पनि खड्का र थानीविनाको निर्वाचनले यहाँको माहोल तताएको छ । सुर्खेत क्षेत्र नम्बर एकमा नेपाली काँग्रेस सुर्खेतका पूर्व उपसभापति टेकबहादुर सिंह र दुईमा वीरेन्द्रनगर नगर कार्य समितिका पूर्व सचिव रमेशकुमार सापकोटा रास्वपा बाट उम्मेदवार बनेका छन् । नेकपा एमालेबाट क्षेत्र नम्बर एकमा धुब्रकुमार शाही र दुईबाट कुलमणि देवकोटा चुनावी मैदानमा छन् । नेकपाले एकमा जितबहादुर राना र दुईमा झकबहादुर मल्ललाई उम्मेदवार बनाएको छ ।
नेपाली काँग्रेसले सहजै जित निकाल्न सक्ने सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा काँग्रेसकै पूर्व सहकर्मीहरूबिचको प्रतिस्पर्धाले आगामी निर्वाचनको परिणाम कस्तो आउला भन्ने विषयमा आम मतदातामा चासो बढेको छ । काँग्रेसले विगतका दिनमा सुर्खेतको विकासमा खेलेको भूमिका, नयाँ अनुहारका उम्मेदवार, सङ्गठनको बलियो पकड लगायतका कारणले दुवै क्षेत्रमा जित निकाल्ने दाबी गरेको छ ।
नेपाली काँग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले आम मतदाता काँग्रेसलाई विजयी गराउन लागेको दाबी गरे । ‘मतदातामा काँग्रेस जिताउने उत्साह छ’ उनले भने, ‘काँग्रेसभित्रको एकताले सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा सहजै जित निकाल्न सकिने अवस्था छ ।’ रास्वपाका उम्मेदवारले काँग्रेसका भोट काट्न सके आफूले जित हाँसिल गर्नेमा एमालेका उम्मेदवारहरू आशावादी छन् ।
‘वाक्युद्ध’मा महेन्द्र–प्रकाण्ड
कर्णालीको अर्को चर्चित निर्वाचन क्षेत्र हो, कालिकोट । यहाँ पनि पूर्व सहकर्मी खड्काबहादुर विश्वकर्मा र महेन्द्र बहादुर शाहीको प्रतिस्पर्धाले यो क्षेत्र चर्चामा आएको हो । विश्वकर्मा २०६४ सालको संविधानसभा निर्वाचनमा कालिकोटबाट विजयी भएका हुन् । उतीबेला भारी मतान्तरले विजयी भएका बिक १८ वर्ष पछि संसदीय प्रक्रियामा दोहोरिएका हुन् । २०७० साल यताका सबै चुनावमा उम्मेदवार बनेका कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही पुनः उम्मेदवार बनेपछि यहाँ नेकपालाई विरासत जोगाउने र अन्य दललाई महेन्द्रको एकाधिकार तोड्ने होडबाजी चलेको छ ।
कालिकोटमा महेन्द्र र खड्काबहादुर विश्वकर्माबिच जिल्लाको विकासको जस लिने होडबाजी चलेको छ । दुवै उम्मेदवार एक अर्कामा आरोप प्रत्यारोप पनि त्यत्तिकै चलिरहेको छ । चुनाव प्रचारमा बिले नेकपाका सबै नेताहरू आफ्नो अगाडि ‘बच्चा’ भएको भन्दै उनले केही गर्न नसक्ने टिप्पणी गरेका थिए । एक अर्को कार्यक्रममा महेन्द्र शाहीलाई लक्षित गर्दै पटक पटक चुनाव जितेर गए पनि केही गर्न नसक्ने ‘लफङगा’ हरू फेरी आश्वासन बाँड्दै आएको भनेपछि यी दुई उम्मेद्वारबीच वाक्युद्ध चलेको छ ।
जवाफमा महेन्द्र शाहीले कालिकोटका सबै पालिकामा सडक सञ्जाल बिस्तार गरेकोले त्यही बाटोमा गाडि कुदाउँदै गाली गर्न लाज मान्नु पर्ने बताएका थिए । कालिकोटमा नेकपा र नेकपा माओवादीबिचको टकरावले काँग्रेस एमालेलाई फाइदा हुने आङ्कलन पनि गरिएको छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ कालिकोटमा पहिलो दल बनेको तत्कालीन नेकपा माओवादी केन्द्रसँग तत्कालीन एकीकृत समाजवादी थपिएपछि थप बलियो बन्न सक्ने आङ्कलन गरिएको थियो ।
नेकपाका अधिकतम भोट खड्काबहादुरले काट्न सकने अघिल्लो निर्वाचनमा झिनो मतले दोस्रो बनेको एमाले र तेस्रो स्थानमा रहेको नेपाली काँग्रेसलाई फाइदा पुग्ने छ । एमाले पृष्ठभूमिका प्रकाश न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि काँग्रेसभित्रको बलियो एकताले निर्वाचन परिणाम काँग्रेसको पोल्टामा पर्ने काँग्रेसले विश्वास लिएको छ । चुनावी परिणाम आङ्कलन गर्न सहज नभए पनि जिल्लमा दलहरूको प्रतिस्पर्धाले निर्वाचन क्षेत्रलाई भने चर्चित बनाएको छ ।
रुकुम पश्चिम पनि चर्चामा
शान्ति प्रक्रियापछि लगायतार रुकुमबाट चुनाव जित्दै आएका जनार्दन शर्मा आफ्नै कार्यकर्ता गोपाल शर्मासँग प्रतिस्पर्धा गरिरहेका छन् । जर्नादन शर्मा आफै संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुराना आफ्नै कार्यकर्ता गोपाल शर्मासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
तत्कालीन माओवादी केन्द्रमा रहेका दुवै जना यो पटक प्रतिद्वन्द्वी बनेका हुन् । जनार्दन नेकपा माओवादी केन्द्रको उपमहासचिव हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर चुनावमा होमिएका छन् । रुकुम पश्चिममा उनलाई नेकपा एमालेले साथ दिएको छ । गोपाल शर्मा २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्य थिए । माओवादीको बलियो साङ्गठनिक पकडलाई नेकपाले चुनाव जित्ने आधार मानेको छ ।
जनार्दनले माओवादी सङ्गठनकै बलमा यस अघिका चुनाव जित्दै आएकोले आगामी निर्वाचन पनि नेकपाले जित्ने दाबी गरेको छ । जनार्दनको प्रभाव क्षेत्र मानिएको रुकुम पश्चिममा नेकपा एमालेले साथ दिए पछि जनार्दनले आफ्नो प्रभावलाई कायम राख्दै जित निकाल्न सक्ने अड्कलबाजीहरू पनि चलेका छन् । एमाले उम्मेदवारविहीन हुनु, नेकपाको मत प्रलोपालाई जाने र यो बिचमा काँग्रेसले जितको मौका पाउने चर्चा पनि चलेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal