दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि दैलेखका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी तीव्र बनेको छ । विगत तीन दशक देखि नेपाली कांग्रेस र नेकपा (एमाले) को वर्चस्व रहँदै आएको यस जिल्लामा यसपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले कडा चुनौती पेस गरे पछि चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ ।
विशेष गरी क्षेत्र नम्बर २ मा बौद्धिक व्यक्तित्वहरूको उपस्थितिले पुराना दलहरूलाई रक्षात्मक अवस्थामा पु¥याएको छ भने क्षेत्र नम्बर १ मा साना र नयाँ दलहरूको बढ्दो प्रभावले ठुला दलको मत परिणाम प्रभावित हुने देखिएको छ ।
वि.सं. २०७९ को निर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका दलहरूले पुनः पुरानै उम्मेदवारहरू लाई चुनावी मैदानमा उतारे पछि मतदातामा देखिएको नैराश्यता र नयाँ विकल्पको खोजीले ठूला दलहरू ‘रक्षात्मक’ अवस्थामा पुगेका छन् । पुराना दलका ‘टेस्टेड’ अनुहार दोहोरिँदा नयाँ र साना दल प्रति आकर्षण बढेको र यसले चुनावी नतिजा लाई त्रिपक्षीय प्रतिस्पर्धा तिर धकेलेको राजनीतिक विश्लेषकहरूको ठहर छ ।
दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा कुल ८१ हजार ५०३ मतदाता रहेका छन् । यस क्षेत्रमा यसपटक ११ जना उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा त्रिपक्षीय हुने आकलन गरिएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बन्नु भएका योगेन्द्रबहादुर शाहीको चर्चा यति बेला जिल्लाभर चुलिएको छ । सामाजिक प्रतिष्ठा र बौद्धिक पहिचान बनाउनु भएका शाही जवाहरलाल नेहरू विश्वविद्यालय बाट क्षेत्रीय विकासमा एमफिल गर्नुभएका छ र कर्णाली प्रदेश योजना आयोगको पूर्व उपाध्यक्षको अनुभव सम्हाल्नु भएका व्यक्तित्व हुनुहुन्छ ।
उहाँको उम्मेदवारीले यस क्षेत्रमा त्रिपक्षीय भिडन्तको सम्भावनालाई बलियो बनाएको छ । उम्मेदवार शाही भन्नुहुन्छ, “दैलेखका दुवै क्षेत्रमा यसपटक नेपाली कम्युनिष्ट पार्टीको सम्भावना उच्च छ । जनताले पुराना अनुहारको विकल्प खोजेका छन् र बौद्धिक नेतृत्व प्रति आशा राखेका छन् । म प्रति देखिएको जनलहरले नयाँ इतिहास लेखिने सङ्केत गरेको छ ।” यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार र नेकपाका शाहीले ठूला दलको मत उल्लेख्य रूपमा काट्ने देखिएको छ ।
गत २०७९ को आम निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका दीक्पाल कुमार शाहीले २० हजार १८३ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोखरेलले २० हजार १६ मत पाउन ुभएकोथियो । मात्र १६७ मतान्तरको त्यो हार–जितलाई यसपटक योगेन्द्र शाहीको ‘इन्ट्री’ ले पूर्णतः प्रभावित पार्ने देखिएको छ । एमालेकै पृष्ठभूमि बाट आएका र बौद्धिक छवि बनाएका शाहीले युवा र तटस्थ मत तान्ने सम्भावना उच्च रहेकाले नेकपाको जितको बलियो आधार तयार भएको विश्लेषण गरिन्छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इन्जिनियर बखतबहादुर शाहीले पनि पुराना दलको मत काट्ने निश्चित छ ।
क्षेत्र नं. १ : विरासत जोगाउने र भत्काउने दाउ
क्षेत्र नम्बर १ मा ७९ हजार ७०१ मतदाता रहेका छन् । यहाँ १० जना उम्मेदवार बिच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा बहाल वाला सांसद एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अमरबहादुर थापा आफ्नो विरासत जोगाउने कसरतमा हुनुहुन्छ । २०७९ को निर्वाचनमा थापाले १८ हजार २९७ मत ल्याएर एमालेका रवीन्द्रराज शर्मा (१७ हजार ४४५ मत) लाई ८५२ मतान्तरले पराजित गर्नुभएको थियो ।
एमालेबाट पुनः रवीन्द्रराज शर्मा, नेपाली कांग्रेस बाट वासना थापा दैलेखको इतिहासमा पहिलो महिला उम्मेदवार हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) बाट रामलाल विश्वकर्मा र रास्वपा बाट नन्दकिशोर बस्नेत चुनावी मैदानमा हुनुहुन्छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले एमाले र कांग्रेस जस्ता ठुला दलको परम्परागत मत काट्ने देखिएको छ, जसको प्रत्यक्ष लाभ नेकपाका उम्मेदवार थापालाई पुग्न सक्ने आकलन गरिएको छ । थापाले कर्णाली प्रदेशको भौतिक पुर्बधार मत्री हुदाँ होस् वा सङ्घिय प्रतिनिधी सभा सदस्य हुदाँ होस् दैलेखको बिकास, समृद्धि योगदान अतुलयि रहेको मुल्याङ्कन हुने गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दैलेखमा हाल कुल १ लाख ६१ हजार २०४ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा ७९ हजार ७०१ र क्षेत्र नम्बर २ मा ८१ हजार ५०३ मतदाता रहेञ का छन् ।
नयाँ र साना दलको दबाब
दुवै निर्वाचन क्षेत्रमा रास्वपा, अन्य साना दलहरूले पुराना दलको मत उल्लेख्य रूपमा काट्ने देखिएको छ । विशेष गरी इन्जिनियर र बौद्धिक वर्ग चुनावी मैदानमा उत्रिए पछि ’टेस्टेड’ अनुहार प्रति मतदाताको मोहभङ्ग हुन सक्ने सङ्केत देखिएको छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूले ‘मत चोर्ने’ रणनीति अख्तियार गरेका छन् । ठूला दलका उम्मेदवारहरू लाई यसपटक चुनाव जित्न निकै सङ्घर्ष गर्नु पर्ने देखिन्छ । नेकपाले दुवै क्षेत्रमा आफूलाई बलियो शक्तिका रूपमा प्रस्तुत गर्दै कांग्रेस–एमालेको विकल्प बन्ने दाबी गरेको छ ।
नयाँ दलहरूको बढ्दो प्रभाव र बौद्धिक उम्मेदवारहरूको उपस्थितिले विशेष गरी युवा मतदाता र नयाँ दर्ता भएका मतदाताहरूको झुकाव नयाँ शक्ति तिर रहेकाले फागुन २१ को नतिजाले दैलेखको पुरानो राजनीतिक विरासतमा परिवर्तन ल्याउन सक्ने अनुमान गरिएको जिल्ला अदालत दैलेखमा लामो समय देखी अधिवक्ता काम गदै आउँनु भएका सर्बराज जोसीले बताउँनुभयो ।
दैलेखका दुवै क्षेत्रमा यसपटक कुनै एक दलको स्पष्ट बहुमत भन्दा पनि झिनो मतान्तरले नतिजा फेरबदल हुन सक्ने अङ्कगणितले देखाउँछ । मतदाताहरूले विकास, रोजगारी र सक्षम नेतृत्वलाई प्राथमिकता दिएका कारण फागुन २१ को निर्वाचनले दैलेखको राजनीतिमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ ।


नवीन रिजाल


