आज :

हुम्लामा कम्युनिष्ट पार्टी घरदैलोमा केन्द्रीत, डा.रोकायालाई जनतको शुभकामना

  • अनलाइन डबली

सिम्कोट । नेपाली कम्युनिष्ट पार्टी हुम्लाका उम्मेदवार डा. दीपेन्द्र रोकायाले आफ्ना मतदाताको बीचमा पुगेर घरदैलो गर्न थालेका छन्। उनले जिल्ला सदरमुकाम सिमकोट तल्लो गाउँको चौपारीबाट आफ्नो घरदैलो कार्यक्रमको शुरुवात गरेका हुन्।

आइतवार विहान स्थानीय ल्वासुर र वाँडपालका धामी, डाँग्री तथा गाउँका जानमानको उपस्थितिमा स्थानीयवाशीद्धारा उम्मेदवार डा. रोकायाको चुनावी अभियानलार्इ स्वागत गर्नुभयो। चौपारीमा उपस्थित भएका सिमकोटवासीलार्इ नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य वीरजङ्ग शाहीले हामीले खोजेको र जनताले रोजेका उम्मेदवार ल्याएर आएको बताउनुभयो।

अर्का केन्द्रीय सदस्य तीर्थराज रोकायाले पार्टीले अगाडि सारेका उम्मेदवार डा. रोकाया अन्य पार्टीको भन्दा योग्य र हुम्लाको मुहार फेर्न सक्ने कर्नाली प्रदेशकै योजनाकार भएको बताउनुभयो। उहाँले इतिहासमा आएको यो मौका हुम्लाले चुकाउन नहुने पनि तर्क पेश गर्नुभयो।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. दीपेन्द्र रोकायाले आफ्नो उम्मेदवारी संविधानको रक्षा गर्न, संघीयताको सवलीकरण गर्न, दिगो विकासको ढोका खोल्न र हुम्लावासीको सम्मान स्थापित गर्न भएको बताउनुभयो। उहाँले सिमकोटको ऐतिहासिकता र गर्नपर्ने विकासबारे पनि आफ्ना धारणा राख्नुभयो। चौपारीमा एक छाब्री चिउलाको सगुन खाएपछि सिमकोटको तल्लो गाउँका सबै घरमा पुगेर उम्मेदवार रोकायाले मत माग्नुभयो।

सोमबार सिमकोट माथिल्लो गाउँको कालासिल्ता मारुमा स्थानीयवाशीका साथै कालासिल्ताका डाँग्री डबल्या रोकाया, धामीद्धय सोभन्न्या रोकाया र जना रोकाया, मइठाका धामी नाना कामी र घण्टपालका धामी लाल्धन सुनारसँग नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. दीपेन्द्र रोकायाले भेटघाट गर्नुभयो। कालासिल्ताका डाँग्री डबल्या रोकायाले मारुमा दियो बालेपछि भन्नुभयो,- “हामीले यति धेरै पढेको नेता पाउनु भाग्यको कुरा हो, सबै हुम्लीले बुझ्न सक्नु पर्छ।”
सोही अवसरमा डा. रोकायाले कुनैबेला हिमालय क्षेत्रका शिव, जालन्धर, मारुल्या भनिएको मल्लकाल र खसकालको व्यापारिक केन्द्रलार्इ काठमाडौ केन्द्रित राज्यसत्ताका कारण दुर्गम र पछाडि पारिएको क्षेत्रलार्इ अग्रभागमा ल्याउन आफुले नीति, विधि र हुम्ली जनताको आवाज संसदमा उठाउने प्रतिवद्धता जाहेर गर्नुभयो। उहाँलार्इ भेट्ने सबैले दैचाउल र खादा लगाएर शुभकामना दिने गरेका छन्।

माथिल्लो गाउँको भोरावारी, राब्बारी, नायकवारी र जाजकोटीवाडामा दिनभर सबैको घरमा उम्मेदवार डा. रोकाया पुग्नुभयो। उहाँलार्इ टिका लगाएर आशिक दिनेहरुलार्इ उम्मेदवारले भनेको सुनिन्थ्यो- “तपार्इ जसिलो हुनुहोस्, तपार्इले दिएको आर्शिवाद पुरा होस् र तपार्इ लगायत सम्पूर्ण हुम्ली जनतालार्इ सेवा गर्न पाउ।”

यसैगरी मंगलवार दिउँसो हिउँ परिरहेको थियो, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. दीपेन्द्र रोकाया सिमकोट बजारमा रहेका सिमकोटीहरुसँग भेटघाट गर्न व्यस्त देखिनुभयो। उहाँले नेपाली काँग्रेसका उम्मेदवार जयपति रोकायाको घरमा समेत पुगी उहाँको आमाबुवाको हातबाट टिका थाप्नुभयो। टिका थापेपछि डा. रोकायाले भन्नुभयो, “लोकतन्त्र जिवित बनाउन हामी चुनावी मैदानमा छौ।”

डा. रोकायाले आफ्नो उम्मेदवारी मनोनयन गरेपछि सिमकोट तल्लो बजारमा रहेको पार्टी कार्यालयमा नेपाली कम्युनिष्ट पार्टीको नयाँ बोर्ड राख्न जानुभयो। माघ ९ गतेका दिन नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. दीपेन्द्र रोकायाले आफ्नो सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो। सम्पर्क कार्यालय स्थापना गरेयता सोही कार्यालयबाट दैनिक गतिविधि भर्इरहेका छन्।

नेपाली कम्युनिष्ट पार्टी हुम्ला जिल्ला समितिको एकता तथा चुनावी बैठक आज १४ र १५ गते सिमकोटमा बस्दैछ। रातभर भएको हिमपातबाट जिल्लाको जनजीवन कष्टकर भएपनि किसानहरुलार्इ राहत भएको छ। विगतमा माओवादी र अहिले कम्युनिष्ट पार्टीले बैठक तय गरेको बेला पानी पर्नु र हिमपात हुनुलार्इ किसानहरुले कम्युनिष्ट पार्टी अन्नदाता किसानहरुको पार्टी भएको रुपमा चर्चा गर्ने गरेको पाइएको छ। उनीहरुको दावी छ कि, यो पटक संघर्षशील विज्ञ नेता डा. दीपेन्द्र रोकायाको जित् सुनिश्चित छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal