काठमाडौं । नेपाली कांग्रेसको बन्दसत्र सुरु भएको छ । बन्दसत्र जेष्ठ प्रतिनिधि ८८ वर्षीय श्याम कुमार खड्काको अध्यक्षतामा सोमबार बन्दसत्र सुरु भएको हो ।
आइतबार सुरु भएको महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र राज्य सञ्चालनको परम्परागत शैली बदल्ने गरी आफ्नो प्रस्ताव पेस गरेका छन् । सोमबार ‘बदलिएको देश बदल्नुपर्ने कांग्रेस’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दै महामन्त्री शर्माले मुलुकको शासकीय स्वरूपदेखि पार्टीको आन्तरिक जीवनसम्म आमूल परिवर्तनको खाका कोरेका छन् ।
बन्दसत्रले ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेको छ । अधिवक्ता समेत रहेका महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गरेको कार्यविधि सर्वसम्मत पारित भएको छ ।
नेताहरुका अनुसार कार्यविधिले नयाँ नेतृत्व चयन गर्ने बाटो पनि खोलिदिएको बताइएको छ । उक्त कार्यविधिअनुसार २०७८ साल मंसिरमा सम्पन्न चौधौं महाधिवेशनबाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको भन्दै सो समिति विघटन गरेको छ ।
महाधिवेशन सञ्चालन प्रक्रियालाई पनि कार्यविधिले प्रष्ट पारेको छ । विशेष महाधिवेशनको अध्यक्षता पार्टी सभापतिले गर्नेछन् भने उनी अनुपस्थित भएमा उपस्थित ज्येष्ठ सदस्यले अध्यक्षता ग्रहण गर्नेछन् ।
बन्द सत्रलाई व्यवस्थित बनाउन महाधिवेशन प्रतिनिधिहरू मध्येबाट ५ सदस्यीय अध्यक्षता मण्डल गठन गरिने र आलोपालोमा सत्र सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
यस महाधिवेशनमा पेस हुने प्रस्ताव तथा प्रतिवेदनहरूमाथि सामूहिक वा संयुक्त रूपमा दफावार छलफल हुने र अन्त्यमा बहुमत प्रतिनिधिहरूको ‘ध्वनी मत’ का आधारमा प्रस्तावहरू पारित मानिने व्यवस्था कार्यविधिमा छ । गणपूरक संख्याका लागि भने विधानको धारा ४६ बमोजिम ५० प्रतिशतभन्दा बढी सदस्यको उपस्थिति अनिवार्य गरिएको छ ।
विशेष महाधिवेशनमा ५० प्रतिशत भन्दा बढी प्रतिनिधिहरु उपस्थित भएको दाबी गरेका छन् । यसअनुसार नयाँ नेतृत्व चयनसम्म हुने केही प्रतिनिधिहरुले सार्वजनिकरुपमै बोल्दै आएका छन् । उनिहरुका अनुसार महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


अनलाइन डबली


