
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभाका सांसद शेरबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वप्रति तीव्र आलोचना गर्दै देशको समसामयिक समस्याप्रति गम्भीर ध्यान नदिएको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै सांसद कुँवरले देश अहिले आर्थिक तथा कूटनीतिक चुनौतीको घेराभित्र रहेको अवस्थामा सरकार र ठूला दलहरू सत्ताको भागबण्डा र शक्ति प्रदर्शनमा मात्रै केन्द्रित रहेको टिप्पणी गरे ।
उनले भने, ‘अहिले देशको बारेमा बहस गर्दा ग्रे–लिष्टबाट कसरी हटाउने भन्ने विषयमा जानुपथ्र्यो । युवालाई विदेश जानबाट कसरी रोक्ने भन्नेमा जानुपथ्र्यो । सबैको चिन्ता लोकतन्त्रलाई कसरी बलियो बनाउने र बचाउने भन्ने हुनुपथ्र्यो ।’
सांसद कुँवरले अन्तर्राष्ट्रिय दातृ निकायहरूले समेत नेपालको अवस्थालाई लिएर हात उठाउने स्थिति आइसकेको बताउँदै राजनीतिक नेतृत्वको प्राथमिकता नै गलत दिशामा रहेको बताए ।
‘देश ग्रे–लिष्टमा गयो, त्यो चिन्ता उहाँहरूलाई छैन, उपसभामुखलाई कसरी हटाउने भन्ने दम्भ मात्रै छ,’ उनले भने, ‘उहाँहरूलाई कसले च्यालेञ्ज दिन सक्छ ? किन साना दलसँग डराएका छन् ?’ उनले प्रश्न गरे ।
यसैगरी जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानले उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस–एमाले तयार भएमा आफूहरुले सहयोग गर्ने बताएका छन् ।
उनले आफूहरु सत्तापक्षको सांसद भएकाले सरकारले गर्ने सबै प्रकारका राम्रा काममा जनमत पार्टीको साथ र सहयोग रहने बताएका हुन् ।
‘जनमत पार्टी अहिले सरकारको पक्षमा छ । सत्ता पक्षमा छ । सरकारले गर्ने जुनसुकै राम्रा निर्णयमा हाम्रो साथ र सहयोग हुन्छ । हामी मुलुकको हित, समृद्धि, विकास र स्थायित्वको निम्ति हामी सरकारलाई साथ र सहयोग दिन्छौं ।’उनले भने ।