आज :

कैलाली कारागार झडपः छानविन समिति गठन, घाइतेलाई आफन्तले भेट्न पाएनन्

  • अनलाइन डबली

धनगढी । कैदीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको नियन्त्रणमा छ । शुक्रबार मध्यराति झडप भएपनि त्यसपछि कारागारभित्रको घटनास्थलमा सुरक्षा निकायलाई अवरोध गरेका कारण कैदीहरुको नियन्त्रणमा गएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलालीका प्रहरी उपरिक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितका सुरक्षा अधिकारीहरु कारागारको अवस्था बुझ्न गएका थिए । तर कैदीहरुले उनीहरुलाई कारागारभित्र प्रवेशमा अवरोध गरेका थिए ।

‘हामीहरु अहिलेसम्म पनि कारागारभीत्र पस्न सकेका छैनौं । उनीहरु आक्रोसित छन । थप घटना नहोस भनेर नै भित्र प्रवेश गर्न खोजेका छैनौं’ प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले भने । जिल्ला सुरक्षा समितिको बैठकले अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेका छन् ।

घटनापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि कारागारभित्रको घटनास्थलसम्म पुग्न सकेको छैन् । ‘घटनाबारे बुझिरहेका छौं । कारागार प्रशासनको कार्यालयसम्म त पुग्न सकिएको छ तर कारागारभित्र भने जान सकिएको छैन’ राष्ट्रिय मानवअधिकार आयोगका एक अधिकृतले भने ।

कारागारमा शुक्रबार राति सामूहिक झडप भएको थियो । झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । यसअघि ४७ जना घाइते भनिएकोमा घाइते अवस्थामै कारागारको छतमा लुकेका थप दुई जना प्रहरीको टोली पुगेपछि फेला परेका हुन ।

मृतक चौधरीको शव सेती प्रादेशीक अस्पतालको शवगृहमा राखिएको छ । घाइते ४९ जनालाई सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर शेर बहादुर कमरले घाइतेहरु मध्ये अधिकांशका हातखुट्टा भाँचिएका छन् । उनले झडपमा फलामका रडहरुको बढी प्रयोग भएको बताए ।

‘फलामे रडहरुको बढी प्रयोग भएको छ । घाइतेहरुलाई ठूलो चोट लागेपनि उनीहरु खतरामुक्त छन् । एकजनाको सल्यक्रिया भएको छ । एकजनालाई आईसीयुमा भर्ना गरिएको छ’ डाक्टर कमरले भने । सेती प्रादेशिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि स्थान नपुगेपछि घाइतेहरुलाई नजिकै रहेको कोरोनाका बेला बनाइएको भवनमा सारिएको छ ।

घाइतेका आफन्तको गुनासो– अस्पतालमा भेटनै दिइएको छैन

धनगढी उपमहानगरपालिका–४ का महेश चौधरी विहानैदेखि तनावमा छन् । उनी कतिबेला सेती प्रादेशिक अस्पतालमा पुगिरहेका छन भने कतिबेला कैलाली कारागार । उनलाई छोराको अवस्थाका बारेमा केही जानकारी पाइएको छैन ।
‘विहानदेखि भौंतारिरहेको छु, न भेट गर्न दिइएको छ, न कुनै जानकारी नै दिएको छ’ अस्पतालको इमरजेन्सीको बाहिरपट्टी भेटिएका उनले भने । ‘लामो समयदेखि कारागारमा झडप भइरहेको थियो, प्रशासनले मतलब गरेन । अहिले ठूलो घटना भयो ।’

उनका छोरा शरद चौधरी लागुपदार्थ सम्बन्धि मुद्दामा कैलाली कारागारमा थिए । शरदलाई पाँच वर्षको जेल सजाय तोकिएको थियो । उनलाई जेल सजाय भोगेको दुई वर्ष भयो । ‘छोरा भेटन जाँदा कारागार भित्रको अवस्था नराम्रो छ भन्दैथ्यो, दुई समूहबीच झडप भइरहने र त्यसबाट सबैलाई खतरा रहेको भनियो, कारागार प्रशासनलाई पनि यसबारेमा जानकारी गराइएको थियो तर लापरवाही भएर यस्तो भयो’, महेश चौधरीले भने ।

उनी मात्रै होइन, सेती प्रादेशिक अस्पताल र कैलाली कारागारमा कैदीबन्दीका आफन्तहरुको भीडभाड लागेको छ । धनगढीकै रमेश विनाडीलाई पनि आफ्ना भान्जाका बारेका जानकारी छैन् । लागुपदार्थ सम्बन्धि मुद्दामै कारागारमा रहेका उनका भान्जा पनि घाइते छन ।

‘भान्जाको अवस्थाका बारेमा प्रशासन र कारागारले केही पनि जानकारी दिएको छैन । अस्पतालमा पनि जान दिन्न, कारागारमा पनि जान दिन्न’ बिनाडीले भने । उनले कारागार भित्र लाठी, रड र भाला कताबाट गए भन्ने गम्भिर प्रश्न उब्जिएको बताए ।

‘झडपमा फलामे रड, भालाहरु प्रयोग भएका छन । ती कसरी कारागारभित्र पुगे ?’ विनाडीले प्रश्न गरे । ‘यसको छानबिन हुनुपर्छ ।’ उनले लामो समयदेखि कारागारमा झडप भइरहे पनि प्रशासनले त्यसलाई सामान्य रुपमा लिएका कारण यस्तो भएको दाबी गरे ।

समिति गठन

कारागार घटनाको छानविनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । शनिबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक राजकुमार सिह, शसस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेको पाँच सदस्यीय छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।

यसैगरी नेपाल न्यूज बैंकसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले झडप भएपछि अवस्था अलिकति असामान्य भएको तर त्यस्तो नियन्त्रणमा लिएको भन्ने समाचार गलत भएको बताए ।
उनले भने, ‘समाचारमा कारागार घटनास्थल कब्जा लिइयो भनेर आएको कुरामा म जानकार छैन । त्यहाँ सुरक्षाकर्मीले गर्ने काम गरिरहनु भएको छ । जहाँ जहाँ हुनुपर्ने हो त्यहाँ नै हुनुहुन्छ । त्यस्तो केही पनि होइन् । अहिले त्यहाँ सामान्य नै छ अवस्था ।’

घाईतेमध्ये जगदीश राना, रबि चौधरी र आयुष भट्टको अवस्था चिन्ताजनक रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal