
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले भिजिट भिसाको नाममा भइरहेका शोषण, हत्या र मानव तस्करीको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले भिजिट भिसा पूर्णरूपमा रोक्न नभई यसको नाममा भइरहेको अपराधको विरोधमा आफूहरू सडकदेखि संसदसम्म आन्दोलित रहेको स्पष्ट पारिन् ।
‘भिजिट भिसाको विरोधी हामी होइनौं,’ उनले भनिन्, ‘तर यसको आडमा नेपाली नागरिकहरूलाई मार्ने, बलात्कार गर्ने, शोषण गर्ने र बाकसमा फर्काउने काम भइरहेको छ, त्यसको विरोधी हौं ।’
कार्कीले भिजिट भिसाको आडमा नेपाली महिला तथा युवतीहरू वैदेशिक घरेलु श्रममा जबर्जस्ती पठाइएकाले उनीहरू यौनजन्य शोषण र हिंसाको सिकार भइरहेकाले गम्भीर चिन्ता व्यक्त गरिन् । साथै उनले के सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति? के हो यो? भन्दै सरकारलाई प्रश्न गरिन् ।
उनले गृहमन्त्रीप्रति संकेत गर्दै भिजिट भिसा प्रकरणमा दिनमा ५० हजारदेखि दिनमा १ लाख बुझ्नेहरुको मुटु काप्दैन भन्दै प्रश्न गरिन् ।
उनले भनिन्, ‘भिजिट भिसा प्रकरणमा दिनमा ५० हजारदेखि दिनमा १ लाख बुझ्ने सरकारका गृहमन्त्रीको मुटु काँप्दैन ? आफ्ना देशवासीहरुको लास देखेर मुटु काँप्दैन?’
सांसद कार्कीले सरकारले यस विषयमा स्पष्ट जवाफ दिनुपर्ने र भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, शोषण र हत्या तत्काल रोक्न कडा कदम चाल्नुपर्ने माग राखिन् ।