
काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बस्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्ला निराधार भएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी दिए ।
पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै बास्तोलाले संसदमुखी राजनैतिक पार्टीहरुमा गम्भिर समस्या देखिन थालेको बताए । “संसदवादी दलहरु सत्ता र स्वार्थमा लिप्त हुँदाको परिणाम राष्ट्रिय स्वाधिनतामा खतराको घण्टी बज्न थालेको छ” बास्तोलाले भने ।
देशको राजनैतिक व्यवस्था र जनताकाबीचमा चरम अन्तरविरोध पैदा भएको बताउँदै बास्तोलाले भने, “यो अवस्थामा स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो जनआन्दोलनको तयारी गर्ने निर्णय बैठकले गरेको छ ।”
तपार्इँले पेल्न खोजेर पार्टी फुटको संघारमा पुगेको हो ? भन्ने संचारकर्मीको प्रश्नमा बास्तोलाले भने, “पार्टी जीवनमा बहस, छलफल हुनु स्वभाविक विषय हो, त्यसलाई ठूलो मान्नु हुँदैन, हामी एकताबद्ध छौं ।”
कारबाही गरेको विषयमा के भन्नु हुन्छ, भन्ने प्रश्नमा उनको जवाफ थियो, “कमरेड लेनिनद्वारा प्रस्तावित जनवादी केन्द्रीयतको संगठनात्मक विधिमा विकास गर्दै नेतृत्व प्रणाली र मूल्यांकन विधिको नीति तय गरिएको छ, र अहिले सो कारबाही फिर्ता भइसकेको छ ।”
“जिम्मेवार कमरेडहरुसँग ब्यापक छलफल र बिचार मन्थन पश्चात् देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै टुटफुटभन्दा एकताबद्ध हुने कुरामा प्रतिबद्ध भएका छौं” बास्तोलाले भने ।
बास्तोलाले अमेरिका लगायतकाहरुले विश्वका श्रमजीवी जनता र कमजोर राष्ट्रमाथि युद्ध थोपरेको आरोप लगाउँदै भने, “यसले गर्दा विश्व विस्फोटको संघारमा पुगेको छ । त्यसैले उसकाविरुद्ध उत्पीडित जनता र राष्ट्रहरुले प्रतिवाद गर्न जरुरी भएको छ ।
साम्राज्यवादले थोपरेको युद्ध तत्काल बन्द गर्न, मानवसंहार रोक्न हाम्रो पार्टीले आह्वान गरेको छ ।”