
काठमाडौं । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत गृह सचिवस्तरीय बैठकबारे ब्रिफिङ गरेका छन् ।
शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव दुवाडी सहभागी भएको गत मंगलबार र बुधबार बसेको दुई दिने बैठकमा भएका छलफलबारे गृहका प्रवक्ता रामचन्द्र तिवारीले ब्रिफिङ गरेका हुन् ।
उनले सीमापार अपराधहरुको रोकथाम, सीमापार लागुऔषधको अवैध ओसार पोसारलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।
उनले भने,‘गृह सचिव स्तरीय समितिको जुन कार्यक्षेत्र छ, त्यसका आधारमा सीमापार अपराधहरु रोकथाम गर्ने, त्यसमा पनि महिला बालबालिकाको मानव ट्राफिकिङसँग सम्बन्धित, सीमापार लागुऔषध अवैध ओसार पोसार र अर्थतन्त्र एवम सम्पत्ति सुद्दीकरण सम्बन्धित कुराहरुबारे छलफल भएको छ । यसमा सरकारको पनि चासो छ । यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल भएको छ ।’
त्यस्तै उनले बैठकले अपराधसँग सम्बन्धित सूचनाहरु समयमा नै आदान–प्रदान गर्ने र त्यसबाट सम्भावित नियन्त्रणको लागि दुबै देशको निकायहरुको सहकार्य गर्न जोड दिने निर्णय भएको पनि जानकारी दिए ।
बैठकमा गृहसचिव दुवाडीको नेतृत्वको १२ सदस्यीय नेपाली टोलीमा नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका एआइजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका एआइजी टेकेन्द्र कार्की, गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारी लगायत सहभागी भएका थिए ।
यस्तै, भारतीय गृहसचिव नेतृत्वको टोलीमा सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागी रहेको थियो ।