
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणाले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । उनले दोषीलाई कारवाही र निर्दोषलाई रिहा गर्न सरकारसँग आग्रह गरे ।
सांसद राणाले उक्त दिनको घटनालाई गम्भीर भन्दै भने, ‘यदि यति गम्भीर घटनाको छानबिन गरिन्न भने अरु के को गरिन्छ? दोषीमाथि कारवाही होस् र निर्दोष रिहा होस् भन्ने मेरो माग हो ।’
उनका अनुसार आन्दोलनका क्रममा प्रहरीको बल प्रयोगपछि प्रदर्शनकारीहरू उत्तेजित भई तोडफोड तथा आगजनीका घटनाहरू भए । ‘त्यसबीच केही साथीहरू ज्यान जोगाउन एक गल्लिको सटरभित्र आश्रय लिन पुगेका थियौं, उनले भने, ‘तर साँझ अस्पतालमा घाइतेहरूको उपचार भइरहेका बेला प्रहरीले हामीलाई झुटा आरोपमा गिरफ्तार ग¥यो र हाम्रा विचारधारामाथि नै आक्रमण गर्न खोजियो ।’
राणाले आन्दोलनका क्रममा आफूहरूलाई दमन गर्न राज्य संयन्त्र प्रयोग गरिएको गुनासो गरे । उनले उक्त घटनामा सत्यतथ्य छानबिन गरी झुटा मुद्दा खारेज गर्न माग राखे ।
त्यसैगरी उनले तराई क्षेत्रमा पानीको चरम अभाव भएको भन्दै तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।