
काठमाडौं । (नेकपा माओवादी केन्द्र)का उपमहासचिव शक्ति बहादुर बस्नेतले ओली सरकारले ल्याएको बजेटमा किसानलाई अन्याय गरेको आरोप लगाएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आयोजना गरेको कार्यक्रममा बस्नेतले २ बुँदे सहमति कार्यान्वयन नगरे संघर्षको चेतावनीसमेत दिए ।
४८ औं जुगेडी किसान संघर्ष दिवसको अवसरमा बोल्दै पूर्व–गृहमन्त्रीसमेत रहेका बस्नेतले आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षको रुपमा पेस भएर २ बुँदे सहमति गरेको बताए । उनले सरकारसँग भएको सहमति बारे कुनै गलत धारण नबनाउनसमेत आग्रह गरेका छन् । “यदि ३० दिनभित्र समहति कार्यान्वयन नगरे सरकार विरुद्ध सडक संघर्ष गर्ने बाटो खुल्ला छ, तर आशा गरौं छिट्टै उच्चस्थतरीय छानविन समिति बन्ने छ” बस्नेतले भने ।
बस्नेतले किसान आन्दोलनमा जनवादी क्रान्तिको महत्वपूर्ण भूमिका रहेका बताएको बताउँदै भने,“२०५२ साल अघि भएका विभिन्न किसान आन्दोलनले सही दिशामा पक्रन नसक्नुको मुख्य कारण सामन्तवादप्रति केन्द्रीत थिएनन्, सो विषय जनयुद्धले समेट्यो र निर्णायक बन्यो ।”
“नेपालको लोकतान्त्रिक आन्दोलन सामन्वादसँग सम्बन्ध विच्छेद गर्ने थियो तर तोड्न सकेन २०४६ को मर्म अनुसार अगाडि बढ्न सकेन, उल्टै जनताको भावना र मर्म विपरित राजतन्त्रसँग सम्झौता गरे । बस्नेतले भने । राजकीय सत्ता जनतामा हुनुपर्छ भन्ने पहिले देखिनै हाम्रो पार्टीले अडान लिदै आएको छ ।”
बस्नेतले समय क्रमसँगै सामाजिक जीवनको परिस्कृत मूल्य, मान्यता र आवश्यकता अनुसार संघर्षका स्वरुप पनि बदलिन सके मात्र किसान आन्दोलनलाई नविनरुप दिन सकने बताए । संगठनका उपाध्यक्ष श्रीगोविन्द महर्जनले जुगेडी लगायतका संघर्षहरुलाई सत्तामा पुग्ने र बिर्सने प्रवृत्तिविरुद्ध आफूहरुले खबर्दारी गर्दै आएको बताए ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का पार्टी फ्य्राक्सन इन्चार्ज तथा पूर्व मन्त्री सुनिल मानन्धरले असार ५को दिनलाई किसानको संघर्ष र बलिदान दिवसकोरुपमा मनाउँदै आएको बताए । किसानको आन्दोलन माथि उठ्न नसकेको र यसको जिम्मेवारी आफ्नो पार्टी माओवादीले पनि लिनु पर्ने बताए ।
त्यसैगरि वरिष्ठ पत्रकार नरेन्द्र जंग पीटरले जुगेडी किसान संघर्ष र देशमा हुँदै आएका किसानहरुको आन्दोलनले समग्र नेपाली वामपन्थी तथा सर्वहारा किसान वर्गलाई माथि उठाउन इतिहासलाई लिपिवद्ध गरि सहिदहरुले दिएको योगदानलाई भुल्नु नहुने बताए ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले जुगेडी किसान योद्धाहरुको सम्मानमा कार्यपत्र प्रस्तुत गर्दै ऐतिहासिक जुगेडी किसान संघर्षलाई कहिल्यै पनि भुल्न नहुने बताए । श्रेष्ठले आफ्नो संगठनले जुगेडी संघर्षको दिनलाई सँधै आत्मसाथ गर्दै आएको बताउँदै किसानको मुक्ति र संघर्षलाई मुक्तिको सही बाटो भएको बताए ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासचिव नहेन्द्र खड्काले जुगेडी लगायत देशका सहिद किसानहरुलाई राष्ट्रिय सहित घोषणा गर्नु पर्ने माग गरेका थिए ।