
काठमाडौं । लाइफ अटोमोबाइल प्रा.लि.ले सेवाग्राहीलाई दुःख नदिएको बताएको छ । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्षसमेत रहेका विष्णुकुमार अग्रवाल संचालक रहेको कम्पनीले प्रेस काउन्सिल नेपालमार्फत अनलाइन डबली डटकमलाई पठाएको खण्डनमा सेवाग्राही निरज केसीले पत्रकार सम्मेलनमा बोलेका कुराहरु सत्य नभएको दाबी गरेको छ ।
कम्पनीले आफ्ना सम्पूर्ण ग्राहकहरुप्रतिको दायित्व निष्ठापूर्वक पूरा गरेको बताउँदै अमुक व्यक्तिहरुलाई एकलौटी आधार मानी समाचार बनाइएको भन्दै खण्डन गर्न आग्रह गरेको छ ।
पानीको माथिल्लो भागसमेत पानीमा डुबेको कारण मुख्य विद्युतीय प्रणालीहरुमा पूर्णरुपमा असर परेको तर सेवाग्राहीले बास्तविकतालाई लुकाएको भन्दै उक्त कुरा सत्य नभएको बताएको छ ।
गाडीमा पानी पसेर स्टार्ट हुन नसक्ने अवस्थामा उचालेर अर्को गाडीमा ढुवानी गरेर सर्भिस सेन्टरसम्म पुर्याएको कम्पनीले दाबी गरेको छ ।
त्यसैगरी कम्पनीको कुनैपनि व्यक्तिहरुले सेवाग्राहीलाई ‘जे सक्छस् गर’ भन्ने अभिव्यक्ति नदिएको बताउँदै कम्पनीका प्रतिनिधिहरुले पत्येक पटक यथासम्भव शीघ्र प्रतिक्रिया दिएको दाबी गरिएको छ । त्यस्तै कम्पनीले सिईओ विजय लामाले सेवाग्राहीलाई अदालत जानु समेत नभनेको दाबी गरेको छ ।
आफ्नो डेढ करोड मूल्य पर्ने गाडी कम्पनीले मर्मतको नाममा ७ महिनासम्म फिर्ता नगरेको भन्दै केसीले संवाद डबलीमा पत्रकार सम्मेलन गरेर गाडी फिर्ताको लागि पहल गरिदिनु आग्रह गरेका थिए ।
निज केसीका अनुसार ८ महिनापछि केही दिन पहिले मात्रै आफूले गाडी पाएको बताएका छन् ।