आज :

मधेसी जनताको मुक्तिको जिम्मा माओवादीले लिन्छ: प्रचण्ड

  • अनलाइन डबली

राजबिराज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेसवादी दल माओवादी मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताउनुभएको छ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजबिराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्किया

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजबिराजमा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्कियालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयाको परेको औल्याउँदै अध्यक्ष प्रचण्डले उनीहरुबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको बताउनुभयो ।

आफूलाई मधेसवादी भन्ने दलहरुको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन उहाँले आग्रह गर्नुभयो । मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेसका सहिद सहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संघीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो। अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उहाँले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताउनुभयो।

राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै उहाँले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्ट गर्नुभयो।

नेपालमा सबैभन्दा पुरानो सडकको रुपमा हुलाकी मार्ग रहेको भए पनि राज्यले अलपत्र पारेको अवस्थमा आफू प्रधानमन्त्री भएको बेला भारत भ्रमणमा जाँदा समकक्षी नरेन्द्र मोदीलाई यो सडक बनाउने हो कि होइन भनेर प्रश्न गरेपछि उहाँले बनाउने नै हो भन्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रचण्डले त्यसपछि हुलाकी मार्ग निर्माण सुरु भएको र आफूले सिराहामा आएर यसको उद्घाटन गरेको जानकारी दिनुभयो।

मधेसमा सिँचाइ, मल बीउ आदिका समस्या समाधान, कृषि उत्पादन वृद्धि र बजारीकरण, शिक्षा, स्वास्थ्य आदिको अवस्थामा परिवर्तन ल्याउन पार्टी पूर्णरुपमा समर्पित भएर लाग्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी नेतृत्वको सरकारले थालेको मिटरब्याज पीडितलाई न्याय दिन थालेको ऐतिहासिक अभियान अहिले रोकिएको उल्लेख गर्दै पार्टीको गत केन्द्रीय समिति बैठकले मधेस प्रदेशमा प्रदेशस्तरीय र अन्य प्रदेशका जिल्लाहरुमा मिटरब्याज पीडित संघर्ष समिति बनाएर आन्दोलन अघि बढाउने जानकारी दिनुभयो। पार्टीले थालेको सुशासनको अभियान भ्रष्टाचार विरुद्धको अभियान मात्र नभएर दलाल पुँजीवादविरुद्धको आन्दोलन भएको बताउनुभयो।

नेसपा अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्धका कारण नै गणतन्त्र संभव भएको उल्लेख गर्दै नेपालमा पहिलो गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह र दोस्रो गणतन्त्रवादी नेता प्रचण्ड भएको बताउनुभयो । मधेसको समस्या राष्ट्रिय समस्या भएको उल्लेख गर्दै उहाँले माओवादी केन्द्रले उठाएको हुलाकी मार्ग केन्द्रित मधेस जागरण अभियानलाई आफ्नो पार्टीले समर्थन गरेको बताउनुभयो ।

पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संस्थापक दलको नाताले यो व्यवस्थाको रक्षा र कार्यान्वयनका लागि पनि माओवादीले नै पहल लिनुपर्ने बताउनुभयो। नेपालको अर्थ सामाजिक रुपान्तरण अबको मूल दायित्व भएको उल्लेख गर्दै उहाँले मुलुकलाई समाजवादमा लैजान खोजिए पनि आर्थिक विभेद अझै कायम रहेकाले यसमा गहिरो ध्यान ध्यान जानुपर्ने बताउनुभयो।

सहभागीहरुले मधेसमा शैक्षिक अवस्था कमजोर रहेको, राजनेताहरुको शिक्षामा ध्यान नदिएको, हिजो हिमाल र पहाडलाई शिक्षा दिने मधेस अहिले आफै पछि परेको, मधेसी समुदायले गुणस्तरीय स्वास्थ्य पाउन नसकेको, युवाहरु बिदेश पलायन भइरहेको उल्लेख गर्दै यी क्षेत्रमा सबैको ध्यान जानुपर्ने सुझाव दिएका थिए। उनीहरुले मधेसी जनताको अवस्था बदल्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाउन र त्यसका लागि सबै दल एक ठाउँमा उभिन उनीहरुले आग्रह गरे।

नीति, कानुन र कार्यक्रम तथा बजेट बनाउँदा जनताको सहभागिता सुनिश्चित गरिनुपर्ने उल्लेख गर्दै उनीहरुले महिला, दलित, मधेसी, मुस्लिम, जनजाति जस्ता पछाडि पारिएको समुदायको मुक्तिको झण्डा उठाउने माओवादीले नै यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिए। हुलाकी मार्ग केन्द्रित अभियान चलाएकोमा धन्यवाद दिँदै उनीहरुले यसको शीघ्र पूर्णताका लागि ध्यान दिन सुझाव दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal