![](https://onlinedabali.com/wp-content/uploads/2025/02/oli-deuba-gathbandhan.jpg)
काठमाडौं । सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयुक्त बैठकले अन्य दलहरुसँग छलफल गरेर अध्यादेश फागुन ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति हो ।
बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकका अनुसार सत्तारूढ दलबिच सहमति भएका भूमी सम्बन्धी अध्यादेशबाहेक ५ वटा अध्यादेश निर्णायार्थ पेश गर्ने सहमति भएकाे हाे । ‘सदनमा दर्ता भएका अध्यादेशका बारेमा छलफल भएको छ, छलफल सकारात्मक छ, अध्यादेश अघि बढाउन सबै सहमत भएका छौं’ लेखकले भने ।
सरकारलाई समर्थन गरेका जसपा नेपाल र लाेसपाले भूमि सम्बन्धि अध्यादेशलाइ समर्थन गर्न नसक्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली दवावमा परेका थिए ।
प्रधानमन्त्री ओली अध्यादेशमा समर्थन जुटाउन भन्दै सरकारलाई समर्थन गरेका दलहरूकाे बैठक बाेलाएका थिए । बैठकमा जसपा नेपालका काेही नेता पनि सहभागी थिएनन् । तर, बैठक स्थलबाटै अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशाेर यादवसँग प्रधानमन्त्रीले फाेन वार्ता गरेकाे बताइएकाे छ ।
नेताहरूका अनुसार सहमति जुटेका ६ मध्ये ५ वटा अध्यादेश पारित गर्ने र त्यसपछि भुमि सम्बन्धि अध्यादेशबारे छलफल गर्ने नेताहरूबीच सहमति भएकाे छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी रहेका थिए ।