काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) महासचिव धर्मेन्द्र बास्तोलाले नेपाल गरिब हुनुको प्रमुख कारण देशभित्र उत्पादन नहुनु रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को ९ औं महाधिवेशन उदघाटन समारोहमा उनले देश गरिब हुनु र युवाहरु देशमा बस्न नचाहनुको कारण नै उपभोग गर्ने वस्तुको उत्पादन देशभित्र नहुनु रहेको बताए ।
उनले भने, ‘आज अन्तर विरोध कहाँ छ भने, जसले उपभोग मात्र गर्छ उत्पादन गर्दैन् त्यो कंगाल हुन्छ । सार कुरा यही नै छ । आज हाम्रो देश किन गरिब छ, आज हाम्रा छोराछोरीहरु किन विदेश गइरहेका छन् । देशमा बस्न रुचाइरहेका छैनन् । किनभने हामीले उपभोग गर्ने वस्तुको उत्पादन देशभित्र छैन् । हाम्रो संघर्ष त्यसैमा छ ।’
नेपालमा दलाल पुँजीवादीहरुले उत्पादन बढाउनु भन्दा पनि निर्यात गर्ने कुरालाई बढी प्रोत्साहन गरिरहेको पनि उनको भनाइ छ ।
यसका साथै उनले परम्परागत रुपमा चल्दै आएको भ्रष्टाचार र तस्करीलाई निरन्तरता दिने राज्यलाई खारेज गर्ने काममा अगाडि बढेको बताए ।
उनले भने, ‘जनता मुक्तिका लागि ठूलो कदम उठाएका थियौं र पार्टीलाई पुनःगठन गरेका थियौं । साम्राज्यवादको ऐजेन्टको रुपमा काम गर्ने, झोला बोकेर हिड्ने, साम्राज्यवादको अगाडि भिख माग्दै देशभित्र भ्रष्टाचार, तस्करी जुन परम्रागत रुपमा चल्दै आएको र त्यसलाई निरन्तरता दिने राज्यलाई खारेज गर्नुपर्ने थियो र हामीले त्यो काम गर्दैछौं ।’