काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को जारी बैठक भोलि सक्ने तयारी भइरहेको छ । बैठक लम्बिने भएपछि अध्यक्ष प्रचण्डले कार्यतालिकामा कडाई गरेका छन् ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरुले आजपनि धारणा राख्ने क्रम जारी रहनेछ । पहिलो दिन ८० जनाले धारणा राखेका छन् । अब नाम टिएका बोल्न १ सय जना बाँकी रहेको महासचिव देव गुरुङले जानकारी दिए ।
पहिलो दिनभर ८० जनाले मात्रै बोलेका थिए, आजपनि त्यही संख्यामा नेताहरुले आफ्ना धारणा राख्ने बताइएको छ । नेताहरुले बोल्ने क्रम लम्बिए निर्धारित समयमा बैठक नसकिने भएकोले आज नाम फिर्ता लिन आग्रह गरिने बताइएको छ ।
प्रतिवेदन, महाधिवेशन, पार्टीको आगामी रणनीति र कार्यनीतिबारे कुरा दोहोरिन थालेपछि बोल्नेक्रमलाई छोट्याउने बताइएको छ । तर, नाम फिर्ता लिन दबाब नदिने नेताहरुले बताएका छन् ।
‘कुरा दोहोरिन थालेका छन्, यही कुरा दोहोर्याउँदै भनेर कुनै कमरेडले आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्नुहुन्छ तर जबरजस्त नाम फिर्ता लिन लगाउने वा बोल्न नदिने भन्ने कुरा हुँदैन’ एक नेताले भने ।
नेताहरुको कार्यविभाजन, महाधिवेशन र अभियानबारे टुंगो लगाएर जाने विषयमा नेताहरु एकमत देखिएका छन् । अहिले जनतामा जाने र त्यसपछि फेरि बैठक बसेर आयोजक समिति बनाएर महाधिवेशनमा जानुपर्छ भन्ने मत बलियो देखिएको छ ।
त्यस्तै, अभियानको समय एक महिना छोटो हुने बताउँदै बोल्ने नेताहरुले समय थप गर्नुपर्ने धारणा पनि राखेका छन् ।