काठमाडौं । लिपुलेक प्रकरण बारे धर्ना बसेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा अध्यक्ष फणीन्द्र नेपाललाई सिंहदरबार दक्षिण गेटबाट प्रहरीले गिरफ्तार गरेको छ । चीन र भारतले लिपुलेक प्रयोग गर्ने सहमति गर्दासमेत प्राविधिक विषय भएको भन्दै ओली सरकार पन्छीएको अरोप लगाउँदै विरोध गरिरहेका अध्यक्ष नेपाल सोमबार गिरफ्तारीमा परेका छन् ।
हालै चीन र भारतले लिपुलेक प्रयोग गर्ने सहमति गरेका थिए, सो विषयमा नेपाल सरकार गम्भिर हुुनुको सट्टा ‘त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो’ भनेर गैरजिम्मेवार अभिव्यक्ति आएपछी मोर्चा विरोधमा उत्रिएको छ । अध्यक्ष नेपालले “लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने सरकारको विरोध नगर्ने हो भने सरकार झन्–झन् मौन रहनेछ , इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ ।”
यस सम्बन्धमा २०८१ पुस १९ जारी प्रेसविज्ञप्ति
नेपालको दार्चुला जिल्लाको लिम्पियाधुरादेखि लिपु लेकसम्मको ५६ किलोमिटर लामो भूमिमा इन्डियाले सन् १९६२ देखि अहिलेसम्म सैनिक बलमा कब्जा जमाउँदै आइरहेको छ । सन् २०१५ मा चीन र इन्डियाले लिपुलेक भन्ज्याङबाट द्विपक्षीय व्यापार तथा कैलास यात्रा गर्ने सहमति गरेकोे र हालै २०२० देखि अवरुद्घ कैलास मानसरोवर यात्रा खुला गर्ने सहमतिले चीन र इन्डिया दुवै मुलुकले नेपालको सार्वभौमसत्ताको चरम उपेक्षा गरेको स्पष्ट भएको छ । उक्त सहमतिमा लिपुलेकको नाम नलिएको भए पनि कैलास मानसरोवर यात्रा लिपुलेकबाटै हुने स्पष्ट छ ।
आफ्नो देशको भूभागमाथि अरू देशले थिचोमिचो गर्दा नेपाल सरकारले तत्काल विरोध गरी सो भूभागमाथि नियन्त्रण कायम गर्नुपर्नेमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यममा’भारत र चीनबीचको सहमतिले हाम्रो नक्सा प्रभाव पार्ने ढंगले गरेको होइन । त्यो उहाँहरूकै ’टेक्निकलझ कुरा हो र त्यसबारे क्याबिनेटमा पनि लामो छलफल भयो तर निष्कर्षचाहिँ हामीले चिन्ता लिनुपर्ने ढंगले सम्झौता भएको होइनझ भन्ने गैरजिम्मेवार प्रतिक्रिया दिएबाट यो सरकार देशको भौगोलिक अखण्डताप्रति सचेत र समर्पित छैन भन्ने प्रमाणित भएको छ । यति संवेदनशील विषयमा सरकार जिम्मेवार नदेखिएपछि नागरिक तहबाट चीन र इन्डियाले गरेको सहमतिविरुद्ध आवाज उठाउनु जरुरी देखिएको छ ।
अतः ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा सबै नेपालीमा चीन र इन्डियाले नेपालको लिपुलेकमाथि गरेको अन्यायपूर्ण र अवैध सहमतिका विरुद्ध सडकमा निस्किएर विरोध जनाउन हार्दिक अपिल गर्दछ ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ , नेपाल