काठमाडौँ । डा. भीम रावलले नेकपा एमाले रंग खुइलिएको बामाले भएको बताएका छन् । एमालेले निस्कासन गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण कम्युनिस्ट पार्टी विभाजित हुने अवस्था सिर्जना भएको बताए ।
‘एमाले रंग खुइलिएको बामाले भएको छ । यो भन्नुपर्दा मलाई दुख लागेको छ । अन्य कतिपय दल पनि सोही बाटोमा छन्, देशलाई समृद्ध बनाउने र जनताको आवश्यकतालाई पूरा गर्ने जनमत र सरकारको आवश्यकता रहेको छ’ रावलले भने ।
एमालेसहित अन्य दलका कारण जनतामा निराशा बढ्दै गएको र राष्ट्रिय स्वाधीनता पनि कमजोर बन्दै गएको रावलले बताए । उनले ओली गुटले एमालेलाई दिशाहीन बनाएको बताए ।
रावलले अन्य राजनीतिक दल पनि जनता र देशप्रति गम्भीर नभएको आरोप लगाउँदै आफूले मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाउने घोषणा समेत गरे । उनले अभियानको क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने समेत बताए ।
अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’, उनले भने ।