काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेको निर्णयहरु सार्वजनिक गरिएको छ ।
मंगलबार काठमाडौंमा मंसिर २७ देखि पौष २ गतेसम्म सञ्चालन भएको बैठकको निर्णय सार्वजनिक गरिएको हो ।
बैठकले वैचारिक, राजनीतिक, आर्थिक, संगठनात्मक, साँस्कृतिक क्षेत्रमा ऐतिहासिक एवं दूरगामी महत्वका निर्णयहरु गरेको छ ।
पार्टीलाई निर्वाचनमा आयोगमा दर्ता गर्ने निर्णय समेत गरिएको छ । त्यस्तै, बैठकले विचार मिल्नेसँग पार्टीसँग एकता समेत निर्णय गरेको छ ।
त्यसैगरी बैठकले झापादेखि कञ्चनपुरसम्म जनमार्च गर्ने समेत निर्णय गरेको छ ।
यस्ता छन् राजनीतिक कार्यहरुबारे निम्न निर्णयहरु गरिएका छन्ः
क) नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिका १० वर्ष भित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ । त्यसका लागि पार्टीले सुव्यवस्थित बहस, अन्तरक्रिया गर्दै विशेष अधिवेशनको आयोजना गर्ने छ ।
ख) देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च संचालन गर्ने निर्णय लिइएको छ । अभियानमा पार्टी महासचिव, प्रवक्ता, केन्द्रीय समिति, ज.व.स. मोर्चाका नेता, सामना साँस्कृतिक परिवारसहितको टोली सहभागी बन्ने छ ।
ग) क्रान्तिकारी पार्टीहरुसंग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसंग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरिएको छ ।
घ) पार्टीका विचार र प्रस्तावहरुलाई स्पष्ट गर्न देशव्यापी रुपमा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिने छन् ।
ङ) आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा– विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइने छ ।
च) समाजवादी संघीयताको विचार एवं जनताको आन्दोलनको मर्म अनुसार हाल राज्यले कोशी प्रदेश नामाकरण गरेको प्रदेशलाई किराँत लिम्बुवान प्रदेश नामाकरण गर्ने, त्यसलाई मान्यता दिलाउन राजनीतिक शक्तिहरुसंग छलफल बढाउने निर्णय लिइएको छ ।