आज :

एमालेलाई जग्गादान प्रकरणः जग्गा कालु गुरुङको, दानवीर मीनबहादुर !

  • अनलाइन डबली

काठमाडौँ । विवादित व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालयको लागि दान गरेको भनिएको जग्गा उनको नभएको खुलेको छ । उक्त जग्गा अर्का विवादित व्यवसायी कालु गुरुङको र केही स्थानीयकाे भएको खुलेको हो ।

काठमाडौंको कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा १० रोपनी १४ आना दान गरेकाे भनिएकाे जग्गा मिनबहादुरको नाममा  छैन । उक्त जग्गा मालपोत कार्यालयले रोक्का गरेको छ ।

एमालेको पार्टी कार्यालयको शिलान्यास गरिएको कित्ता नम्बर २५७ र २५८ सहितकाे ४ रोपनी जग्गा गुरुङको रियल स्टेट कम्पनी ‘रोड शो’ काे नाममा छ भने अन्य जग्गा स्थानीयकाे । राेड शाे कम्पनीले २०७७ सालमा पास गरेको मालपोत कार्यालयको विवरणमा उल्लेख छ । कालुले वनवरीप्रसाद शाह, प्रमिला शाह र उध्येश्वर लाल श्रेष्ठसँग किनेको देखिएको छ ।

जग्गा बैंकमा राखेर कालुले ऋणसमेत लिएका छन् । अहिले यो जग्गा मालपोतले रोक्का राखेको छ । अरूकाे नाममा रहेकाे यही जग्गामा मिनबहादुरले दानवीर भएर चर्चा कमाइरहेका छन् । उनले हालै दिएको एक अन्तरवार्तामा आफूले एमालेका कार्यकर्ता तथा मतदाता भएकोले जग्गादान गरेकाे बताएका छन् ।

शिलान्यास कार्यक्रममा मीनबहादुर जग्गामात्रै दिएको घोषणा गरेनन्, अत्याधुनिक भवन समेत बनाएर अर्को दशैंमा उद्घाटन गर्ने समेत जानकारी दिएका थिए ।

कालु गुरूङले आफ्नो कम्पनीको नाममा भएको जग्गा मीनबहादुरलाई दिने र त्योवापत भक्तपुरको दुवाकोटमा रहेको जग्गा कालुले पाउने स्रोतको दाबी छ । दुवाकोटमा कालुले राजकुलो समेत मिचेर जग्गा पलटिङ गरेको स्थानीले बताउँदै आएका छन् ।

मीनबहादुरले कालुकाे सँगै रहेको स्थानीयकाे जग्गा किनेर एमालेलाई दिने बताइएको छ । एक स्थानीयका अनुसार सँगै अन्य तीन चार जनाको जग्गा रहेको छ । नाम नबताउने सर्तमा एक स्थानीले भने, ‘मीनबहादुरले दिने भनिएको जग्गा प्रचारमा आएजस्तो उनकाे हाेइन, एकै जग्गा १० रोपनी १४ आना पनि छैन । अन्य व्यक्तिसँग किन्ने वा साटफेर गर्ने कुरा सुनेकाे छु ।’ एक जग्गाधनी एमालेकै समर्थक भएकोले पार्टी कार्यालयको लागि किनबेच वा साटफेर हुन सक्ने उनले बताए ।

यस विषयमा अनलाइन डबली डटकमसँग कुरा गर्दै कालु गुरुङले उक्त जग्गा आफ्नो भएको स्वीकार गर्दै मीनबहादुरलाई बेच्न लागेको बताए । ‘जग्गा मेरै हो, म नितान्त जग्गा व्यवसायी हुँ । मैले जग्गा बेच्न हो, उहाँ (मीनबहादुर) ले किन्न बैना गर्नुभएको छ, मेरो मात्रै होइन, अरु धेरैको जग्गा पनि किन्न लाग्नुभएको हो’ गुरुङले भने । उनले जग्गा अहिले बैंकले रोक्का गरेको पनि स्वीकार गरे । बैंकबाट ऋण लिएकोले जग्गा रोक्का गरिएको गुरुङले बताए ।

मीनबहादुरमार्फत दान गरेको भन्ने आरोपलाई गुरुङले सिधै अस्वीकार गरे । उनले ‘कसले के गर्यो भन्ने उहाँहरुको व्यक्तिगत कुरा हो, म त्यत्रो सम्पत्ति दान गर्ने अवस्थामा पुगेको छैन’ गुरुङले भने । उनले मीनबहादुरसँग आफ्नो राम्रो सम्बन्ध रहेको  बताउँदै आफूसँग जग्गा किनेर के गर्ने उनकाे व्यक्तिगत कुरा भएकाे समेत बताए ।

मीनबहादुर र कालु दुबै विवादित छविका व्यक्ति हुन । दुबैले आफ्ना कर्तुतको ढाकछोप गर्न र त्यसमा प्रधानमन्त्रीले सहयोग गर्ने सर्तमा एमालेलाई जग्गा दिएको आरोप लागेको छ ।

कालु गुरुङले काठमाडौँको वानेश्वरमा एक स्थानीयको जग्गा कब्जा गर्ने दाउमा रहेकाे विगतदेखि आरोप लाग्दै आएको छ ।

मीनबहादुरले १० रोपनी १४ आना जग्गा आफ्नो भएको बताएर एमालेलाई पनि झुक्याएका छन् । उनले सबै जग्गा आफ्नो भन्दै कार्यालयको लागि दान गर्ने बताएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली खुशी हुँदै स्वीकार गर्ने निर्णय गराएका थिए ।

जग्गा पास नभएको र बैंकले रोक्का गरेकोले मीनबहादुरले एमालेलाई झुक्काएको पुष्टि भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal