काठमाडौं । राजतन्त्रत्मक व्यवस्थामा राजालेझैं संघीय लोकतान्त्रिक गणतन्त्रत्मक व्यवस्थामा राष्ट्रपतिले पनि सर्वसाधारणलाई दशैंको टीका लगाउन थालेका छन् ।
यसअघिका राष्ट्रपतिहरुले राजाहरुको सिको गर्दै सर्वसाधारणलाई टीका लगाएका थिए । यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले पनि त्यसलाई निरन्तरता दिने भएका छन् । पौडेलले आज दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
त्यसअघि राष्ट्रपति पौडेलले दिउँसो ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाउने कार्यक्रम तय भएको छ । उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने छन् । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ ।
त्यसपछि बल्ल सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम तय गरिएको छ । यसले पनि के देखाएको छ भने गणतन्त्रका राष्ट्रपतिहरुमा पनि राजतन्त्रका राजाहरुलेझैं आफूलाई सबैभन्दा माथि ठान्ने सामन्ती मनोविज्ञान रहेको छ ।