काठमाडौँ । प्रधानमन्त्रीले काण्डको भारी नबोकी प्रधानमन्त्री बन्न सकिन्छ भन्ने आफूले पुष्टि गरेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले बाँसबारी, गिरीबन्दू टी स्टेट, ललिता निवास, ओम्नी, यति काण्डको भारी नबोकेर पनि प्रधानमन्त्री बन्न सक्ने कुरा आफूले पुष्टि गरेको बताए ।
सरकारले काण्डका फाइल खोल्दै जाँदा माफियाहरु आतंकित भएको बताउँदै उनीहरुले नै काँग्रेस र एमालेलाई मिलाएको दाबी गरे ।
प्रधानमन्त्रीले माफिया सल्बलाएको बेला जनता पनि जाग्नुपर्ने बताए । उनले जनतालाई आफ्नो अधिकारको रक्षाको लागि एकजुट हुन अपील समेत गरे ।
प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व समाल्दै गर्दा अर्थतन्त्रको अवस्था नाजुक अवस्था रहेको बताउँदै सरकारले योजनावद्ध रुपमा सबैसँग छलफल गरेर र नीतिगत सुधार गरेर अहिलेको अवस्थामा पुर्याएको बताए ।