काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले यो पटकको संसद अधिवेशनमा आफूहरुको उपस्थितिलाई थप जिम्मेवार र क्रियाशील बनाउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा दलीय प्रतिनिधिको रुपमा बोल्दै उनले संसदको ठूलो दलको हिसाबले कांग्रेसले सरकारको अपेक्षा र आम नागरिकको संसद प्रतिको अपेक्षा पुरा गर्न भूमिका निर्वाह गर्ने बताए ।
उनले भने, ‘हामीले एउटा संकल्प गरेका छौं । यो पटकको संसद अधिवेशनमा हाम्रो उपस्थितिलाई हामी थप जिम्मेवार बनाउने छौं । आफूलाई थप क्रियाशील पनि बनाउने छौं र सरकारले संसदबाट जे कुराको अपेक्षा गरेको छ, संसदको ठूलो दलको हिसाबले हाम्रो जिम्मेवार र क्रियाशीलताले सरकारको त्यो अपेक्षा र आमनागरिकको संसद प्रतिको अपेक्षा पुरा गर्न हाम्रो भूमिका निर्वाह गर्ने छौं ।’
उनले राजनीतिक वा आर्थिक शक्तिमा आबद्ध भएकै कारण नेपालको सार्वजनिक जग्गा कसैले हडप्न खोने छुट नपाउने बताए । आमनागरिकले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगी धन्दाको मतियार कानुनी कारबाहीको दायरामा आउनु पर्दैन ? भन्दै उनले प्रश्न गरे ।
उनले भने, ‘जोसुकै होस् जतिसुकै शक्तिशाली होस् राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस्, नेपालको सार्वजनिक जग्गा कसैले हडप्न खोज्छ भने सजाय पाउनु पर्दैन ? दण्ड पाउनु पर्दैन ? जुनसुकै पदमा बसेको होस् । आमनागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको पैसा ठगी धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन ?’
उनले संसदमा रहेका सबै राजनीतिक दलहरूले आफ्नो काम गर्ने तरिका बदल्नुपर्ने बताए ।