काठमाडौं । नेकपा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट–चिवाभञ्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा’ का क्रममा जनताका माग र पार्टीले अनुभूति गरेका विषयहरूलाई समेटेर सरकारलाई लिखितरुपमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
यात्राका क्रममा आएका मागपत्र र विषयहरूलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले मंगलबार विहान प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेले यात्राका क्रममा विभिन्न राजनीतिक दल, उद्योगी–व्यवसायी, पालिकाहरू, स्थानीयवासी र सरोकारवालाले पेश गरेको पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका विविध एजेण्डाहरु जस्ताको त्यस्तै सरकारसम्म पु¥याएको जनाएको छ ।
ज्ञावालीले भने, “मध्यपहाडी क्षेत्रमा विकास निर्माणका कार्यहरु ठप्प भएको देखिएको छ । बजेट विनियोजनमा विभेद भएको, भूकम्पपछिको पुनस्थापनामा सरकारले ध्यान पु¥याउन नसकेको, बसाइँसराई तीब्र रुपमा बढिरहेको जस्ता गुनासाहरु आएका थिए । यी र अन्य सयौँ विषयहरु प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छौँ ।”
उनले एमालेको यात्रालाई देशभरिबाट उत्साहजनक जनसमर्थन मिलेको भन्दै आफूहरुले त्यसलाई गणतन्त्र र वर्तमान संविधानको पक्षमा आएको समर्थन भनेर बुझेको बताए ।
ज्ञवालीका अनुसार जवाफमा प्रधानमन्त्री दाहालले एमालेले यात्राका क्रममा संकलन गरेका सुझावहरूलाई सरकारले गम्भीररुपमा ग्रहण गर्ने बताएका थिए ।
उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले एमालेले दिएका सुझावहरु, मागहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको बताए ।


अनलाइन डबली




