काठमाडौँ । भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले रमाना बुझेकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. सुमित्रालाई दरबन्दीमा फिर्ता हुन पत्राचार गरेको थियो ।
मन्त्रालयले असार १५ गते मन्त्रिस्तरिय निर्णय गरेर काज फिर्ता हुन पत्राचार गरेको थियो । सोमबारबाट लागु हुने गरी डा. सुमित्राले रमाना बुझेको भक्तपुर अस्पतालले जनाएको छ । “डा. सुमित्राले हामीलाई आफू दुई दिन बिदामा बस्ने भन्दै भन्नुभएको थियो तर आइतबार साँझ रमाना बुझेर जानुभएको छ” अस्पताल स्रोतले भन्यो ।
डा. सुमित्राको दरबन्दी भएको परोकार तथा प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा हो ।
त्यसैगरी वागमती स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले भने अटेर गरेर गैरकानुनी काजमा बसिरहेका छन् । मन्त्रालयले असार २५ गते मन्त्रिस्तरिय निर्णय गरेर कोरोना महामारीको बेला कामकाजमा रहेका सम्पूर्ण कर्मचारीलाई दरबन्दी भएकै ठाउँमा फिर्ता गर्न निर्णय गरेको थियो ।
तर, राजनीतिक पहुँचकै आधारमा यो समाचार तयार पार्दासम्म श्रेष्ठ निर्देशनालयको जिम्मेवारीमै रहेका छन् । यसअघि अनलाइन डबलीसँगको कुारकानीको क्रममा प्रमुख सचिव मुकुन्द निरौलाले श्रेष्ठलाई आफूहरुले नचिन्ने बताएका थिए ।
श्रेष्ठको दरबन्दी लुम्बिनी प्रदेश तालिम केन्द्रमा भएपनि विगत दुई वर्षदेखि निर्देशनालयको निर्देशकको रुपमा काम गरिरहेका छन् । स्वास्थ्य सेवा ऐनअनुसार अन्तर प्रदेश सरुवा वा काजमा पठाउने अधिकारी संघीय मामिला तथा सामान्वय मन्त्रालयललाई मात्रै छ । तर, तत्कालिन स्वास्थ्य मन्त्री विरोध खतिवडाले गैरकानूनी रुपमा श्रेष्ठलाई निर्देशनालयको जिम्मेवारी दिएका थिए ।