आज :

भरतपुरमा रेणु दाहाल अघिअघि, विजय पछिपछि, यस्तो आयो ताजा अपडेट

  • अनलाइन डबली

काठमाडौँ । स्थानीत तह निर्वाचन अन्तरगत कुनै पनि महानगर र उपमहानगरको मतगणनाको अन्तिम परिणाम आउन सकेको छैन । काठमाडौँ बाहेक सबै ठाउँमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

चर्चाको र चाँसोको केन्द्र बनेको चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले २ हजार बढी मत अन्तरको अग्रता लिएकी छन् । यो अहिलेसम्मकै धेरै मतान्तर हो ।

अहिलेसम्म २८ हजार २०० मतगणना भइसकेको छ । मेयरमा रेणुले १० हजार ४४९ मत पाएकी छन् । उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन् । उनले ८ हजार ५९७ मत पाएका छन् ।

गणतनास्थलमा रहेका माओवादी केन्द्रका एक नेताका अनुसार अब सुवेदीले रेणुलाई भेटाउन मुस्किल हुनेछ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत पाएका छन् । स

भरतपुर महानगरपालिकाको वडा नम्बर ६ को मतगणना सुरु गर्नुअघि गठबन्धन र नेकपा एमालेका मेयरका उम्मेदवारले पाएको मतको फरक ३७३ थियो। त्यो वडामा मात्र गठबन्धनकी रेनु दाहालले एमालेका विजय सुवेदीले भन्दा ३४४ भोट बढी ल्याएकी थिइन्।

मतगणनास्थलमा भेटिएकी दाहालले भनेकी थिइन्, ‘५ नम्बरमा २ सय सम्मले लिड गरिन्छ होला भनेको ३ सय भन्दा बढीले अघि भयौं। नसोचेको भोट आयो। वडा नम्बर ६ को आँकलन के छ ? भन्ने प्रश्नमा उनले जवाफ दिएकी थिइन्- ‘६ मा पनि हाम्रो राम्रै आउँछ जस्तो लागेको छ। भुईंकटहरको पनि यहाँ राम्रै छ भन्ने सुनेको छु। एमालेले पनि राम्रै छ भनेका छन्। हेरौं के हुन्छ।’

तर वडा नम्बर ६ ले उनलाई कसैले नसोचेको भोट दिएको छ। अघिल्लो निर्वाचनमा पनि यहाँबाट दाहालले एमालेका देवीप्रसाद ज्ञवालीले भन्दा ८७६ भोट बढी ल्याएकी थिइन्। तर यसपटकको भोटको ट्रेन्ड हेर्दा कांग्रेसको प्रभाव बढी रहेको क्षेत्रमा धेरै भोट बागी उम्मेदवार जगन्नाथ पौडेलले ल्याउँदै आएका थिए।

अघिल्लो पटक वडा नम्बर १ देखि ४ सम्ममा ज्ञवालीले बढाएको भोटलाई यसपालि जगन्नाथले काटिदिएका थिए। गठबन्धनलाई लागेको थियो विगतमा आफूले सबैभन्दा राम्रो अग्रता लिएको वडाको धेरै भोट भुइँकटहरमा जानसक्छ।

‘तर यहाँबाट हामीले सोच्दै नसोचेको भोट आयो। एक–दुई सयले त पक्कै लिड होला भन्ने सोचेका थियौं तर यहाँबाट त पहिलेको भन्दा पनि धेरै भोटको अग्रता भयो,’ माओवादी केन्द्रका एक प्रतिनिधिले भने, ‘यहाँ लिएको अग्रताले अब हामीलाई एमालेले आफ्नो राम्रो प्रभाव भनेका वडाहरुमा पनि सहज हुने भयो।’

यो वडामा दाहालले सुवेदीले भन्दा १३३९ भोट बढी ल्याइन्। एमालेले वडा नम्बर १०, ११ र १२ लाई आफ्नो सबैभन्दा बढी प्रभाव रहेको वडाहरु मान्ने गरेको छ।

भरतपुरको घना बस्तीमा रहेका यी वडाहरुमा मतदाता धेरै छन्। अघिल्लो निर्वाचनमा यी तीनै वडा एमालेले जितेको थियो। वडा नम्बर ११ को वडाध्यक्षमा त सबैभन्दा धेरै मतान्तरले एमालेका उम्मेदवार विजयी भएका थिए।

वडा नम्बर ६ मा एमालेले सोचेभन्दा निकै कम भोट ल्याएको छ। एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले वडा नम्बर ६ मा यसपटक पार्टीले धेरै सुधार गरेको बताएका थिए।

उनले यो वडामा मेयर र वडाध्यक्ष दुबै जित्ने दाबी गरेका थिए। तर यहाँका मतदाताले सुवेदीलाई भन्दा धेरै भोट दाहाललाई दिए। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको भुइँकटहरले वडा नम्बर ४ मा जस्तै राम्रो भोट ल्याउने अपेक्षा गरिएको यो वडामा उनीहरुले अपेक्षा गरेअनुरुपको भोट आएन।

उनले यो वडाबाट ९०२ मात्रै भोट ल्याउन सके। ५६२३ मत खसेको वडा नम्बर ६ ले गठबन्धनकी उम्मेदवार दाहाललाई २४९९ भोट दिएको छ। जुन भोट अघिल्लो निर्वाचनमा उनले पाएको भन्दा ४५ भोटले बढी हो। एमालेका सुवेदीलाई यो वडाबाट ११६० मात्रै भोट आयो।

गत निर्वाचनमा एमालेका उम्मेदवार ज्ञवालीलाई यहाँबाट १५७८ भोट आएको थियो। अब मतगणना हुने वडा नम्बर ७ मा यसअघि नेकपा एमालेले झिनो मतान्तरले कांग्रेसलाई वडाध्यक्षमा हराएको थियो। तर मेयरमा भने कांग्रेसले सहयोग गरेको माओवादी केन्द्रकी दाहालले २६४ भोट बढी पाएकी थिइन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal