काठमाडौं । सरकारले देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आइतबार बसेको सीसीएमसीको बैठकले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने गरेको हो ।
सीसीएमसीसी को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको सीसीएमसीले आग्रह गरेको छ ।
त्यसैगरी बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।
त्यसैगरी सीसीएमसीको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन बैठकले निर्णय गरेको छ ।
बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ । नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।