धनगढी । कोरोना भाइरस संक्रमणबाट नेपाल कम्युनिस्ट पार्टीका युवा नेता अरुण चौधरीको निधन भएको छ । विप्लव नेतृत्वको नेकपाका कैलाली जिल्ला सदस्य चौधरीको उपचारको क्रममा मंगलबार निधन भएको सेक्रेटरी दिपेन्द्र चलाउनेले जानकारी दिए ।
कोरोना संक्रमणपछि सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा चौधरीको निधन भएको हो । उपचारका सबै विधि प्रयोग गर्दा पनि बचाउन नसकिएको भन्दै सेक्रेटरी चलाउनले लगनशील र संघर्षशील एक नेताको निधनले जिल्ला पार्टीलाई क्षति पुगेको बताए । उनले मृतक चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई समवेदना दिएका छन् ।
यसैबीच चौधरीसहित कोरोनाबाट ज्यान गुमाउनेहरुको सम्झनामा नेकपा निकट युवा संगठन नेपाल कैलालीले चौधरीको सम्झनामा दीप प्रज्वलन गरेको छ । मंगलबार साँझ जिल्लाको घोडाघोडी नगरपालिकाको साडेपानी बाजारमा दीप प्रज्वलन गरेको थियो ।
संगठनका कैलाली अध्यक्ष पुष्प भट्ट, घोडाघोडी नगर इंचार्ज भरत शाह कैलाली जिला सदस्य श्याम सापकोटा नगर सचिव अर्जुन चौधरी, भुवन रमतेललगायत नेताहरुले चौधरीको सम्झनामा दीप प्रज्वलन गरेका थिए ।
त्यसैगरी कोरोना संक्रमणबाट आजसम्म नेपालमा ८ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १०८ जना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९८ पुगेको छ ।
त्यसैगरी आज थप ५ हजार १५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३ हजार ८७० र ५ हजार ६११ एन्टिजेन परीक्षणमा १ हजार २८३ जना गरी कुल ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । आज देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट ६ हजार ५७० जनाले कोरोना भाइरस जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ४५ हजार ३० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।
अहिले कोरोना संक्रमणबाट निको हुने दर बढी छ । तर, ज्यान गुमाउनेको संख्या भने तल माथि भइरहेको छ ।