काठमाडौं । विश्व बैंकले नेपाललाई कोरोना खोप र माहामारी नियन्त्रणको लागि ८ अर्ब ७० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको हो ।
बैंकका कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड विरूद्धका खोपहरूको समतामुलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत नेपालले उक्त ऋण सहायता प्राप्त गर्ने भएको छ ।
कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वकांक्षी योजनालाई सघाउन विश्व बैंकले यो सहायता प्रदान गर्न लागेको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताएका छन् ।
आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड–१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो ।
विश्व बैंककाअनुसार नेपालका लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रमा कोभिड १९ खोप सहयोगका लागि पहिलो चरणमा स्वीकृत भएका तीन परियोजना मध्ये एक हो ।