काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव कुमार नेपाल समूहले विहीबार नेपाल बन्दको घोषणा गरेको छ । सरकारले संवैधानिक नियुक्ति गरेर देशमा गुण्डाराज र फासीवाद लाद्न खोजेको भन्दै सो समूहले पत्रकार सम्मेलन आयोजना गरेर नेपाल बन्दसहित आम हड्तालको घोषणा गरेको हो ।
बुधबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नरायणकाजी श्रेष्ठले सरकारको फासीवादविरुद्ध सशक्त आन्दोलन गर्न आवश्यक रहेकाले बाध्यतावश आमहड्ताल घोषणा गरिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको भन्दै प्रतिनिधि सभा विघटनविरुद्ध मुलुक आन्दोलनमा होमिएका बेला पुनः संवैधानिक नियुक्ति गरेर सरकारले संविधान र लोकतान्त्रमाथि प्रहार गरेको बताए ।
सरकारले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक परिषदमा बलमिच्याँइ गरेको बताउँदै श्रेष्ठले निरकुशतन्त्रको पराकाष्ठा भएको बताए ।
आमहड्तालमा विद्यार्थीहरुको परीक्षा स्थगित नगरिने श्रेष्ठले बताए । उनले संविधान बचाउन नेपाली जनताले सहयोग गर्ने अपेक्षा लिएको भन्दै आगामी माघ २८ गते तय भएको प्रदर्शन यथावत रहेको बताए । उनले स्वेतपत्र जारी गर्ने विषयमा पनि पार्टीमा छलफल जारी रहेको भन्दै त्यसबारे चाडै निष्कर्षमा पुग्ने बताए ।