बुटवल । पत्रकार–विद्यार्थी संगठन नेपालले प्रा.वि. तहबाटै पत्रकारितालाई अनिवार्य विषय बनाएर पठनपाठन गराइनुपर्ने माग गरेको छ । संगठनको रुपन्देही जिल्लाको बैठकले पत्रकारितालाई राज्यको चौथो अंक मानिसकेको अवस्थामा प्रा.वि.तहबाटै अध्ययन गरिनुपर्ने माग गरेको हो । त्यसको लागि संगठनले सरकारको ध्यानाकर्षणसहित देशभर अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।
शनिबार सम्पन्न बैठकले प्रथम जिल्ला भेला गर्ने निर्णय गर्दै श्रमजिवी तथा पत्रकारको पेशागत सुरक्षाको लागि गरिने संघर्षमा सहभागी हुने समेत निर्णय गरेको छ ।
संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेको उपस्थिति र रुपन्देही जिल्ला समिति अध्यक्ष गंगा भण्डारीको अध्यक्षता सम्पन्न बैठकले पत्रकार–विद्यार्थी संगठनको आयोजनमा माघको ८, ९, १० गते बुटवलमा आधारभुत पत्रकारिता तालिम सञ्चालन गर्ने पनि निर्णय गरेको छ । न्याय र राष्ट्रका लागि उत्पीडित पत्रकार र विद्यार्थीहरुको मजवुत एकता कायम गर्ने, सदस्यता वितरण, संगठन विस्तार तथा सुदृढ अभियान सफल पार्ने सो संगठनको उद्धेश्य रहेको अध्यक्ष मुक्ति गैरेले जानकारी दिए ।
बैठकमा संगठनका केन्द्रीय अध्यक्ष गैरेले नेपाल पत्रकार महासंघको (सिण्डीकेट) एकाधिकारवादी नीति र श्रमजीवी तथा पेशागत पत्रकारहरुको पक्षमा उभिन निर्देशन दिएका थिए ।