काठमाडौं । संवैधानिक परिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी ओलीले आज बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । आइतबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो ।
बैठकमा सापकोटा र देउवा सहभागी नभएपछि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच अनौपचारिक कुराकानीमै समित भएको थियो ।
पार्टीसँग कुनै सल्लाह नगरी बैठक बोलाइएको भन्दै पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले आपत्ति जनाएका छन् । पार्टी स्थायी कमिटी बैठक बसिरहेका समयमा पार्टीसँग कुनै सल्लाह नै नगरी संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति गर्न खोजिएको भन्दै प्रचण्डले आपत्ति जनाएको एक नेताले बताए ।
प्रधानमन्त्रीले रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पदमा नियुक्त गर्न खोजिरहेका छन् । ती पदहरुमा संवैधानिक नियुक्ति गर्ने विषयमै प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेस सभापति देउवासँग पटक पटक छलफल गरिसकेको बताइएको छ ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच मंसिर २७ मा दुई नेताबीच भागबण्डा मिलिसकेको बताइएको छ । पार्टीसँग सल्लाह नै नगरी प्रतिपक्षसँग भागबण्डा गरेर संवैधानिक नियुक्त गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीको पार्टीभित्रैबाट आलोचना भइरहेको छ ।