हेमन्त केसी –
सुर्खेत । हिमपात सुरु हुनै लाग्दा उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले खाद्यान्न अभाव हुन सक्ने परिवारलाई लक्षित गरी राहत वितरण गरेको छ । भदौ र असोजमा परेको असिनापानीले उवा बालीमा क्षति पु¥याएपछि गाउँपालिकाले वडा नम्बर ४ का ६१ घरधुरीलाई खाद्यान्न वितरण गरेको हो ।
वर्षभरि खानका लागि जोहो गरिएको मुख्य खाद्यान्न बाली उवामै क्षति पुगेपछि स्थानीय परिवार खाद्य संकटमा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले समयमै राहत उपलब्ध गराएको जनाएको छ । हिमपातपछि उपल्लो डोल्पाका आन्तरिक नाकाहरू बन्द हुने र बस्तीबीचको आवागमनसमेत प्रभावित हुने भएकाले कात्तिकमै खाद्यान्न पु¥याइएको गाउँपालिका अध्यक्ष धावा सन्दुक गुरुङले जानकारी दिए ।
उनका अनुसार हिमपात सुरु भएपछि खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति कठिन हुन्छ। त्यसैले सम्भावित खाद्य संकटलाई ध्यानमा राखेर असिनापानीबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको हो ।
वर्षमा एक बाली, त्यसैले वर्षभरि खाद्यान्नको चिन्ता
उच्च हिमाली भूगोल, अत्यधिक चिसो र छोटो खेतीयोग्य मौसमका कारण शे–फोक्सुण्डोमा वर्षमा एकपटक मात्रै उवा खेती हुन्छ। स्थानीय उत्पादनले वर्षभरि खान नपुग्ने भएपछि यहाँका बासिन्दा बाहिरबाट आयात हुने खाद्यान्नमा निर्भर छन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार शे–फोक्सुण्डो गाउँपालिकाको जनसंख्या ३ हजार ६३५ छ । यहाँ ८६१ घरधुरी छन् । यति ठूलो जनसंख्याको खाद्य आवश्यकता स्थानीय उत्पादनले मात्रै धान्न नसक्ने अवस्था छ । गाउँपालिका–३ का निमु लामाको सात सदस्यीय परिवारलाई आफ्नै उत्पादनले मुस्किलले तीन महिना मात्रै खान पुग्छ। अत्यधिक हिमपात र सिँचाइको असुविधाका कारण वर्षमा एक बाली मात्रै उत्पादन हुने गरेको उनको भनाइ छ ।
स्थानीय उत्पादनले वर्षभरि खान नपुग्ने भएपछि यहाँका बासिन्दाले खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता छ। तर खाद्यान्न ढुवानी नै कठिन हुने भएकाले बजारमा चामलको मूल्यसमेत महँगो पर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको साल्दाङ बिक्री केन्द्रमा चामल नहुँदा स्थानीयले ऋण लिएरसमेत खाद्यान्न किन्नुपर्ने अवस्था रहेको छ ।
हिमपातसँगै बन्द हुन्छन् आवागमनका बाटा
शे–फोक्सुण्डोको भूगोल नै यहाँको खाद्य सुरक्षाका लागि चुनौती बनेको छ । हिमाली क्षेत्र भएकाले कात्तिकदेखि चैतसम्म अत्यधिक चिसो र हिमपात हुने गर्छ । हिमपातले बस्तीबीचका पैदल बाटा बन्द हुँदा खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या पर्ने गरेको छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको विवरणअनुसार यस क्षेत्रको उचाइ समुद्री सतहबाट २ हजार १३० मिटरदेखि ६ हजार ८८३ मिटरसम्म फैलिएको छ । कान्जिरोवा हिमालको दक्षिणी चुचुरो ६ हजार ८८३ मिटर अग्लो छ । उच्च हिमाली भूगोल र प्रतिकूल मौसमका कारण यहाँको जनजीवन अन्य क्षेत्रको तुलनामा बढी मौसमी जोखिममा रहने गरेको छ ।
हिमपातले खेतीपाती मात्रै प्रभावित गर्दैन, पशुपालन र दैनिक जीवनयापनमा समेत असर पु¥याउँछ। चरन क्षेत्र हिउँले ढाकिँदा पशुचौपायालाई आहार जुटाउन कठिन हुन्छ । अत्यधिक चिसोका कारण वृद्धवृद्धा, बालबालिका र बिरामीलाई थप समस्या हुन्छ । बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन र आवश्यक औषधि तथा सामग्री गाउँसम्म ल्याउनसमेत कठिनाइ हुने गरेको छ ।
राहतले तत्काल समस्या टार्ला, खाद्य सुरक्षा अझै चुनौती
उपल्लो डोल्पामा खाद्यान्न अभाव नयाँ समस्या होइन। वर्षमा एकपटक मात्रै उत्पादन हुने अन्नमा प्राकृतिक विपत्तिले क्षति पु¥याउँदा स्थानीय परिवारको वर्षभरि खान पुग्ने खाद्यान्नको जोहो प्रभावित हुन्छ । त्यसमाथि हिमपातपछि बाहिरबाट खाद्यान्न ल्याउन नसक्ने अवस्थाले समस्या थप जटिल बनाउँछ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपल्लो डोल्पाका साल्दाङ, डोल्पोबुद्धको धो र छार्काताङसोङको तिन्जेमा खाद्यान्न बिक्री केन्द्र सञ्चालन गर्दै आएको छ । तर खाद्यान्न ढुवानीमा हुने ढिलाइ र मौसमी नाकाबन्दीका कारण ती केन्द्रमा समेत समयमै चामल पुग्न नसक्ने समस्या देखिँदै आएको छ ।
गाउँपालिकाले हिमपात सुरु हुनुअघि नै ६१ परिवारलाई खाद्यान्न वितरण गर्नु तत्कालीन खाद्य संकट न्यूनीकरणको प्रयास हो । तर यस्ता राहत कार्यक्रमले मात्रै दीर्घकालीन खाद्य सुरक्षाको समस्या समाधान हुँदैन । स्थानीय उत्पादन वृद्धि, खाद्यान्नको पर्याप्त मौज्दात, समयमै ढुवानी र विपद्का बेला वितरण गर्न सकिने खाद्य भण्डारण प्रणाली आवश्यक देखिन्छ ।
प्राकृतिक विपत्तिका कारण वर्षभरिको खाद्यान्न उत्पादन प्रभावित हुने र हिमपातले बाह्य आपूर्ति अवरुद्ध हुने उपल्लो डोल्पाको अवस्थाले खाद्य सुरक्षालाई स्थानीय सरकारको नियमित प्राथमिकतामा राख्नुपर्ने देखाएको छ ।


अनलाइन डबली

