काठमाडौं । भोटेकोशी एवम् कालीगण्डकी करिडोरमा गएको विपद्पछि प्रभावित क्षेत्रको पुनर्निर्माण, पर्यटन प्रवद्र्धन तथा विदेशी पर्यटकलाई नेपाल सुरक्षित रहेको सन्देश दिन सरकारले विभिन्न प्रयास गरिरहेको जनाएको छ ।
भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सोमबार बसेको बैठकमा परराष्ट्र मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पदाधिकारीहरूले विपद्पछिको अवस्था, उद्धार, वैदेशिक सहयोग र पर्यटन क्षेत्रमा परेको प्रभावबारे जानकारी गराएका हुन् ।
बैठकमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भोटेकोशी विपद्पछि विभिन्न मित्रराष्ट्रले नेपाललाई आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराएको जानकारी दिए ।
उनले भने, ‘केही मित्रराष्ट्रहरूले आर्थिक सहयोग गरेका छन् । नेपालका लागि चीन सरकारले २ मिलियन अमेरिकी डलर आपत्कालीन मानवीय नगद सहयोग प्रदान गरेको छ । श्रीलङ्काका महामहिम राजदूतले १ मिलियन अमेरिकी डलर बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । माल्दिभ्सले १ मिलियन माल्दिभियन रुपैयाँ, बङ्गलादेशले १ मिलियन अमेरिकी डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भुटानबाट १० करोड भारतीय रुपैयाँ सहयोग प्राप्त भएको छ । संयुक्त अधिराज्य बेलायतबाट ५ मिलियन पाउन्डको सहयोगको प्रतिबद्धता आएको छ ।’
उनका अनुसार युरोपेली सङ्घबाट २ मिलियन युरो, स्विट्जरल्यान्डबाट १ मिलियन अमेरिकी डलर, डेनमार्कबाट ३५ लाख डेनिस क्रोनर, जर्मनीबाट २ मिलियन अमेरिकी डलर, आयरल्यान्डबाट ५ लाख, चेक रिपब्लिकबाट २५ लाख र नर्वेबाट १२.७ मिलियन नर्वेजियन क्रोनर सहयोगको घोषणा भएको छ ।
विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणको प्रतिबद्धता आएको पनि उनले बताए ।
सचिव राईले विपद्का क्रममा विभिन्न ३८ मित्रराष्ट्रका ७२० जना नागरिकसमेत बेपत्ता भएको विवरण प्राप्त भएपछि उनीहरूका परिवार तथा आफन्तलाई जानकारी दिन मन्त्रालयले आपत्कालीन सहायता कक्ष सञ्चालन गरेको बताए ।
उनले भने, ‘हालसम्म ३०३ जना विदेशी नागरिकको खोज तथा उद्धार गरेर पठाइएको छ । कालीगण्डकीको बाढीमा कुनै विदेशी नागरिक बेपत्ता भएको देखिएको छैन ।’
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यले विपद्का बाबजुद नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य कमी नआएको बताए ।
उनका अनुसार सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म ११ लाख ६२ हजार ३६५ विदेशी पर्यटक नेपाल आएका थिए । चालु वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख ६५ हजार ९२० पर्यटक नेपाल आइसकेका छन् । अक्टोबर महिनामा मात्रै १ लाख ३८ हजार ८१४ विदेशी पर्यटक नेपाल आएका छन् ।
उनले भने, ‘बाँकी दुई महिना नोभेम्बर र डिसेम्बरमा गत सालको तथ्याङ्क भेट्छौँ भन्ने अपेक्षा छ । सकभर यो सिजन पनि हाम्रा लागि पर्यटकीय सिजन भएको कारणले सङ्ख्यात्मक रूपमा हामी गत सालको तुलनामा राम्रै अवस्थामा छौँ वा त्यो बराबर अथवा नघट्ने गरी छौँ ।’
आचार्यले भोटेकोशी विपद्का क्रममा उद्धार र राहतका लागि सरकारले हवाई उद्धारलाई प्राथमिकतामा राखेको बताए । उनका अनुसार त्यतिबेला विमानस्थलमै कमान्ड पोस्ट स्थापना गरी हेलिकोप्टर परिचालनलाई विपद् प्रभावित क्षेत्रमा केन्द्रित गरिएको थियो ।
त्यस्तै, गोसाइँकुण्ड, स्याफ्रुबेँसीलगायतका पर्यटकीय गन्तव्यसम्म पुग्न वैकल्पिक मार्गको व्यवस्था र सङ्केत चिह्न राख्ने काम गरिएको उनले जानकारी दिए । स्याफ्रुबेँसीको लामा होटलसम्म वैकल्पिक बाटोबाट जान सकिने व्यवस्था गरिएको र अहिले पनि उक्त मार्गबाट पर्यटक आवतजावत गरिरहेको उनले बताए ।
विपद्पछि सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट गलत सूचना र नकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्दै आचार्यले नेपाल सुरक्षित रहेको सन्देश दिन सरकारले प्रचारप्रसारलाई तीव्रता दिएको बताए ।
पर्यटन क्षेत्रमा भएको क्षतिबारे जानकारी दिँदै उनले पर्यटन मन्त्रालयले हेर्नुपर्ने क्षेत्रमा करिब ५२ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको बताए । पर्यटकीय पूर्वाधार, ऐतिहासिक तथा पुरातात्त्िवक सम्पदामा पुगेको क्षतिको पुनर्निर्माण र मर्मतसम्भार मन्त्रालयले गर्ने उनको भनाइ छ ।
उनले भने, ‘पीडीएनए सरकारले नै गरिरहेको छ, राष्ट्रिय योजना आयोगबाट भइरहेको छ, यसमा हामी पनि सहभागी छौँ । पीडीएनए पूर्ण भइसकेपछि सरकारले नै प्याकेज घोषणा गर्ने कुरा छ । जस्तो किसिमको प्याकेज घोषणा हुन्छ, त्यही किसिमले पर्यटन मन्त्रालयले निजी क्षेत्रलाई सहुलियत हुने कुराहरू गर्छ ।’
आचार्यले पर्यटक आगमन बढाउन अन्तर्राष्ट्रिय प्रचारप्रसारसँगै हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए । नेपाल वायुसेवा निगमको सेवा र गन्तव्य विस्तार गर्न सके युरोप तथा अस्ट्रेलियाजस्ता बजारबाट पर्यटक भित्र्याउन सहज हुने उनको भनाइ छ ।
उनका अनुसार हाल नेपाल आउने पर्यटकमध्ये करिब ३५ प्रतिशत भारतीय र ८ देखि १० प्रतिशत चिनियाँ पर्यटक रहेका छन् । विदेशी पर्यटकसँगै आन्तरिक पर्यटनलाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए ।
त्यस्तै, हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमताल विस्फोट, हिमपहिरो तथा पानीका स्रोतमा देखिन सक्ने जोखिमबारे विस्तृत अध्ययन गर्नुपर्ने आवश्यकता उनले औँल्याए । पर्यटकीय क्षेत्रलाई पूर्वसूचना प्रणालीसँग जोड्न र भारत तथा चीनसँग सीमापार सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।
विपद् प्रभावित क्षेत्रलाई भविष्यमा अध्ययन, अनुसन्धान र पर्यटनसँग जोड्न सकिने सम्भावना पनि रहेको आचार्यले बताए । भूकम्पको केन्द्रबिन्दुका रूपमा बारपाकमा पर्यटक पुग्ने गरेको उदाहरण दिँदै उनले त्रिशूली करिडोरका केही स्थानलाई पनि विपद् अध्ययन तथा सिकाइका गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।


अनलाइन डबली

