आज :

मुख्य पर्यटकीय सिजनमै सगरमाथा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटक घटे !

  • अनलाइन डबली

पार्वति भण्डारी –

काठमाडौं । पदयात्रा तथा हिमाली पर्यटनको मुख्य सिजनमै सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन घटेको छ । गत वर्षको असोजको तुलनामा यस वर्ष सोही महिनामा निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या करिब ४०० ले घटेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदिमा आएको विनाशकारी बाढीपहिरो र त्यसपछिको प्रतिकूल मौसमका कारण पर्यटकको यात्रा प्रभावित हुँदा सगरमाथा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको संख्या घटेको हो ।

निकुञ्ज प्रशासनका अनुसार चालु आर्थिक वर्षको असोजमा ९ हजार ६३३ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । गत वर्षको असोजमा भने १० हजारभन्दा बढी पर्यटक आएका थिए । निकुञ्जका सूचना अधिकारी विवेक बाइजूका अनुसार यस वर्ष भ्रमण गर्नेमा ७ हजार ६४९ विदेशी, सार्क राष्ट्रका ७३७ र नेपाली १ हजार २४७ जना छन् ।

लुक्ला र जोरसल्लेमा रहेका टिकट काउन्टरबाट संकलित विवरणअनुसार पर्यटक आगमन गत वर्षको तुलनामा केही घटेको बाइजूले बताए । उनका अनुसार लुक्लामा मौसम अनुकूल नहुँदा पर्यटकको आवागमन प्रभावित भएको हो । यद्यपि, गत वर्ष र यस वर्षको पर्यटक संख्यामा धेरै अन्तर नरहेको उनको भनाइ छ ।

नेपालमा सेप्टेम्बर र अक्टोबरदेखि पदयात्रा तथा हिमाली पर्यटनको मुख्य सिजन सुरु हुन्छ । यस अवधिमा सगरमाथा क्षेत्रसहित विभिन्न पदमार्ग र राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटकको चहलपहल बढ्ने गर्छ । तर, यस वर्ष बाढीपहिरो, वर्षा र मौसमसम्बन्धी प्रतिकूल पूर्वानुमानले पर्यटकको यात्रा योजना प्रभावित पारेको पर्यटन क्षेत्रका अधिकारीहरूको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले मौसमसम्बन्धी पूर्वानुमानका कारण असोजमा केही हिमाली क्षेत्र तथा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन घटेको हुन सक्ने बताए । उनका अनुसार प्रतिकूल मौसमको सम्भावना देखिएपछि पर्यटक र सम्बन्धित निकायले सुरक्षालाई प्राथमिकता दिँदै यात्रा योजनामा सतर्कता अपनाउने गरेका छन् ।

‘मौसमको पूर्वानुमानका कारण पनि पर्यटक आगमनमा केही कमी आएको हुन सक्छ । सुरक्षाका दृष्टिले पनि उच्च सतर्कता अपनाउनुपर्ने अवस्था हुन्छ,‘ थपलियाले भने । उनका अनुसार मौसमको प्रभाव सबै पदयात्रा क्षेत्रमा समान हुँदैन । एउटा क्षेत्रमा वर्षा तथा प्रतिकूल मौसमका कारण पर्यटक घटे पनि अर्को क्षेत्रमा मौसम अनुकूल हुँदा आगमन बढ्न सक्छ । त्यसैले कुनै एक क्षेत्रको पर्यटक तथ्यांकले समग्र नेपालको पर्यटन आगमनको अवस्था प्रतिनिधित्व नगर्ने उनले बताए ।

सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति ३ हजार रुपैयाँ, सार्क राष्ट्रका पर्यटकले १ हजार ५०० रुपैयाँ र नेपाली पर्यटकले १०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

मुख्य पर्यटकीय सिजनमा पर्यटक आगमनको अवस्था मौसम, पदयात्रा मार्गको सुरक्षा र यात्रासम्बन्धी पूर्वानुमानसँग जोडिने भएकाले प्रतिकूल परिस्थितिले पर्यटन व्यवसायमा समेत असर पार्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal