आज :

नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट सार्वजनिक

  • अनलाइन डबली

काठमाडौं । हुलाक सेवा विभागले नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक स्वर्गीय शान्ति मिश्रको सम्मानमा विशेष हुलाक टिकट सार्वजनिक गर्दै प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा शान्ति मिश्रको तस्वीर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेका हुन्।

कार्यक्रममा बोल्दै सञ्चार सचिव बस्नेतले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सानो पुस्तकालयबाट सुरु भएर आज दक्षिण एसियाकै प्रतिष्ठित पुस्तकालयका रूपमा स्थापित भएको उल्लेख गर्दै यसको आधारशिला राख्ने श्रेय शान्ति मिश्रलाई जाने बताइन्।

उनले भनिन्, ‘त्रिविको सानो पुस्तकालयका रूपमा सुरु भएको संस्था आज दक्षिण एसियाकै उत्कृष्ट पुस्तकालयमध्ये एक बनेको छ। यसको सुरुवात गर्ने श्रेय शान्ति मिश्रलाई जान्छ। उहाँको योगदानको कदर गर्दै नेपाल सरकारले उहाँको तस्वीर अंकित टिकट सार्वजनिक गरेको हो। यस्तो अवसरमा टाँचा लगाउन पाउनु मेरो लागि गौरवको विषय हो।’

बस्नेतले मिश्रलाई नेपालकी पहिलो महिला प्राध्यापक, पुस्तकालय विज्ञानको क्षेत्रमा अग्रणी व्यक्तित्व तथा महिला सशक्तीकरणका लागि योगदान पुर्याउने व्यक्तिका रूपमा स्मरण गरिन्।

त्यसैगरी हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले शान्ति मिश्रको योगदानलाई भावी पुस्तासम्म पुर्याउन हुलाक टिकट प्रभावकारी माध्यम बन्ने बताइन्।

उनले भनिन्, ‘शान्ति मिश्रले स्थापना गर्नुभएको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय नेपालको पहिलो आधुनिक पुस्तकालय हो। उहाँले महिला सशक्तीकरण, पुस्तकालय विकास, लेखन तथा पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान असाधारण छ। त्यसैले पुस्तकालय र उहाँको व्यक्तित्वलाई केन्द्रमा राखेर हुलाक टिकट प्रकाशन गरिएको हो।’

पंगेनीले हुलाक टिकट केवल सानो कागज नभई इतिहास, सम्पदा, व्यक्तित्व र राष्ट्रिय पहिचान बोकेको माध्यम भएको उल्लेख गरिन्। उनले विश्व हुलाक संघमार्फत नेपालका हुलाक टिकट विश्वका १९२ देशसम्म पुग्ने भएकाले शान्ति मिश्रको योगदान अन्तर्राष्ट्रिय रूपमा समेत परिचित हुने बताइन्।

‘नबोल्ने यो टिकटले नेपालको राजदूतको काम गर्छ। विश्वभर पुग्ने टिकटमार्फत नेपालको पहिलो आधुनिक पुस्तकालय र शान्ति मिश्रको योगदान अन्तर्राष्ट्रिय समुदायमा चिनिनेछ,’ उनले भनिन्।

उनले शान्ति मिश्रले पुस्तकालय विकास, महिला अधिकार, सञ्चारिका समूहमार्फत पत्रकारिता तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई ‘स्वर्णिम अक्षरमा लेखिने इतिहास’को संज्ञा दिँदै कर्मले नै व्यक्तिलाई अमर बनाउने धारणा व्यक्त गरिन्।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, हुलाक तथा फिलाटेलिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। हुलाक सेवा विभागका अनुसार उक्त टिकट विश्वका विभिन्न देशमा पठाइने भएकाले शान्ति मिश्रको योगदान विश्व समुदायसम्म पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal