आज :

बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

  • अनलाइन डबली

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकामा बागमती नदीको बाढीको बीचमा फसेका १४ जना स्थानीय नागरिकको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

आइतबार अपराह्न नदीमा अचानक पानीको बहाव र सतह बढेपछि उनीहरू नदीको बीच भागमा रहेको टापुमा थुनिएका थिए । उद्धार गरिएकाहरूमा ११ जना महिला र ३ जना बालिका रहेका छन् । प्रहरीका अनुसार दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरी घाट नजिकैको नदी उता पट्टीको बगरमा उनीहरू मुंगको दाल (कोसा) टिप्न गएका थिए। दिउँसो मुंग टिपेर घर फर्कने क्रममा अचानक बागमती नदीमा पानीको सतह बढेर आयो । दिउँसो करिब ३ः४० बजे नदीको बहाव तीव्र भएपछि उनीहरूले नदी पार गर्न सकेनन् र बीचकै एउटा टापु जस्तो स्थानमा फस्न पुगे। चारैतिरबाट पानीले घेरेपछि उनीहरूले उद्धारका लागि गुहार मागेका थिए। स्थानीयबासीले तत्कालै यसबारे सुरक्षा निकायलाई जानकारी गराएका थिए । घटनाको सूचना पाएलगतै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट तथा मातहतका विपद् व्यवस्थापन (डीएम) पोष्टहरूबाट विशेष टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक (एएसआई) यज्ञबहादुर योञ्जनको कमाण्डमा १७ सदस्यीय दक्ष उद्धार टोली रबर बोट र आवश्यक उद्धार सामग्रीसहित तत्कालै घटनास्थल मत्सरी घाट पुगेको थियो। उद्धार कार्यलाई थप सुरक्षित र छिटो बनाउन स्थानीय ईलाका प्रहरी कार्यालय गंगापिपराबाट पनि नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले रबर बोटको सहायताले नदीको बीच भागमा पुगेर उद्धार कार्य सुरु गरेको थियो। सुरक्षाकर्मीहरूको झण्डै डेढ घण्टाको प्रयासपछि साँझ ५ः०० बजेसम्ममा फसेका सबै १४ जनालाई सुरक्षित रूपमा नदी किनारमा ल्याइएको थियो । सशस्त्र प्रहरी बल रौतहटका एसपी रामहरी अधिकारीका अनुसार नदीमा अचानक पानीको बहाव बढेका कारण उनीहरू टापुमा फसेका थिए। ‘हाम्रो टोली समयमै आवश्यक तयारी र रबर बोटसहित पुगेकाले कुनै अप्रिय घटना हुन पाएन,’ एसपी अधिकारीले भने, ‘सकुशल उद्धार गरिएका ११ महिला र ३ बालिका सबैको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरू आ–आफ्नो घर फर्किसकेका छन् ।’ मनसुन सक्रिय भएसँगै रौतहट र आसपासका नदीहरूमा पानीको बहाव उतारचढाव भइरहने हुँदा नदी तटीय क्षेत्रका नागरिकहरूलाई सतर्कता अपनाउन र नदी पार गर्दा ध्यान दिन स्थानीय प्रशासन र सुरक्षा निकायले आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal