आज :

जेनजी आन्दोलनका घाइते र सहिद परिवारको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : संयोजक असिम शाह

  • अनलाइन डबली

काठमाडौं । संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेनजी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई छलफलका लागि बोलाएको थियो । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएपछि उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका थिए ।

उनीहरूले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन संयोजक शाहसँग आग्रह समेत गरेका थिए ।

उनीहरूको गुनासो सुनिसकेपछि शाहले वर्तमान सरकार जेनजी आन्दोलनकै जगमा बनेको र यसले जेन्जीको हकहितका लागि निरन्तर काम गरिरहेको बताए । उनले सरकारका बारेमा कुनै पनि भ्रम नपाल्न आग्रह गर्दै भने, ‘यो सरकार जेन्जी आन्दोलनकै जगमा बनेको हो । तपाईँहरूको भावना र बलिदानलाई हामीले बिर्सेका छैनौँ । त्यसैले यो सरकार तपाईँहरूकै सरकार हो ।’

उनले थप्नु भयो, ‘भ्रष्टाचार विरुद्ध र सुशासनको माग संसद्मा हुँदा पनि उठाएको थिएँ, जुन जेन्जी कै भावना अनुरूप थियो । अहिले हामी त्यही मागलाई लागू गर्ने ठाउँमा छौँ, जुन फेरि पनि नयाँ पुस्ताकै चाहना हो । सरकारले सुशासन र भ्रष्टाचारको मामिलामा ‘शून्य सहनशीलताु को नीति अपनाएको छ ।’

संयोजक शाहले सरकार र जेन्जी आन्दोलनका घाइते तथा सहिद परिवार बिच संवादमा केही दूरी बढेको महसुस भएको स्वीकार गरे । अबका दिनमा आफ्ना मागका लागि उनीहरूले थप दौडधुप गरिरहनु नपर्ने आश्वस्त पार्दै उनले भने, “तपाईँहरूले यसरी मागका लागि गुनासो गर्नुपर्ने अवस्था आउँदा हामीलाई असहज लागेको छ । तपाईँहरूको माग पूरा गर्न अब हामी आफैँ लाग्नेछौं ।”
कार्यदलका सदस्य सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सह-सचिव लिलाधर सुवेदीले पनि शाहको प्रतिबद्धतामा ऐक्यबद्धता जनाउँदै यो सरकार जेन्जीको माग पूरा गर्न पहल गर्ने बताएका थिए ।

शाह र सुवेदीको तर्फबाट स्पष्ट प्रतिबद्धता आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्नुभएका घाइते तथा सहिद परिवारका सदस्यहरूले सन्तुष्टि व्यक्त गरे । उनीहरूले आजको छलफलबाट माग कार्यान्वयनका लागि सरकारसँग संवादको बाटो खुलेको बताए ।

साथै, आगामी दिनमा आफ्ना मागका लागि आवाज उठाउँदा राज्यका तर्फबाट कुनै पनि अवरोध नहोस् भन्ने चाहना समेत उनीहरूले राखेका थिए ।

छलफलको अन्त्यमा संयोजक शाहले संविधान संशोधनका लागि बहस पत्र तयार भइरहेको जानकारी दिँदै यस ऐतिहासिक प्रक्रियामा सहभागी हुन आज छलफलमा सहभागी भएका तथा अन्य सबै जेनजीहरूलाई आह्वान गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal