आज :

कर्णालीको भेलाबाट कांग्रेसको २१ बुँदे संकल्पपत्र : जितेका पालिकामा बेरुजु शुन्यदेखि एयर एम्बुलेन्स र योजना बैंकसम्म

  • अनलाइन डबली

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशको विकास, सुशासन र जनसेवालाई केन्द्रमा राख्दै २१ बुँदे ‘कर्णाली संकल्प’ सार्वजनिक गरेको छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा दुई दिनसम्म वीरेन्द्रनगरमा भएको प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र पार्टी नेतृत्वबीचको अन्तरक्रियापछि संकल्प पत्र जारी गरिएको हो ।

संकल्पपत्रमा कानून र विधिअनुसार निर्णय गर्ने, मानवतालाई केन्द्रमा राखेर सेवा दिने तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती र विपन्न वर्गलाई घरमै पुगेर सेवा उपलब्ध गराउने संकल्प काँग्रेसले गरेको छ । नेपाली काँग्रेसले निर्वाचन जितेका स्थानीय तह र प्रदेश सरकारमा संविधानमा व्यवस्था भए अनुसार असार १० भित्र अनिवार्य बजेट ल्याउने, योजनालाई व्यवस्थित बनाउन ‘प्रोजेक्ट बैंक’ प्रणाली लागू गर्ने र टुक्रे योजना रोक्ने निर्णय संकल्प पत्रमा उल्लेख छ ।

आर्थिक अनुशासन कायम गर्दै बेरुजु शुन्यको लक्ष्यका साथ काम गर्ने र स्थानीय तहमा विज्ञ, नागरिक समाज तथा पार्टीसँग परामर्श गरेर योजना बनाउने, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमसँग जोड्ने, रोजगार बैंक स्थापना गर्ने र स्वरोजगार सिर्जना गर्ने कार्यक्रम अघि सारिएको छ । कर्णालीको पहिचान झल्किने पाठ्यक्रम निर्माण, अनुसन्धानमा आधारित शिक्षा र स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउने योजना पनि कांग्रेसले अघि सारेको छ ।

दुर्गम क्षेत्रमा ‘एयर एम्बुलेन्स’ सेवा सहज बनाउने प्रतिबद्धता समेत गरिएको छ । जडिबुटी, जलस्रोत, जंगल र पर्यटनको संरक्षण गर्दै स्थानीय उत्पादनमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने गरी योजना बनाउन काँग्रेसले संकल्प गरेको छ । उच्च मूल्यका जडिबुटीको प्रशोधन र अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने र बोक्सी प्रथा, छाउपडी, बालविवाह र छुवाछुतजस्ता कुरीति अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्ने काँग्रेसको संकल्प पत्रमा उल्लेख छ ।

संघीयताको प्रभाव गाउँसम्म पु¥याउन वित्तीय अधिकार र कर्मचारी व्यवस्थापनमा संघीय सरकारको ध्यानाकर्षण गराइने कांग्रेसले जनाएको छ । हुम्लाको यारी नाका व्यावसायिक रूपमा सञ्चालन गर्न पहल गर्ने र पार्टी संगठनलाई डिजिटल प्रणालीमार्फत अझ सशक्त बनाउने प्रतिबद्धता पनि संकल्पपत्रमा समेटिएको छ ।

दुई दिनसम्म चलेको कार्यक्रममा पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदिप पौडेल लगायत केन्द्रीय नेता, प्रदेश पदाधिकारी, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा काँग्रेसले पछिल्लो निर्वाचनमा पार्टीले भोगेको हारको समीक्षा र आगामी रणनीतिबारे छलफल गरिएको थियो भने दोस्रो दिन सुशासन, विकास र सेवा प्रवाहका विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal