
काठमाडौ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय हट्नुपर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त भए पनि लिजमा परिणत नगरिएका सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन दिएको थियो ।
‘सरकारी जग्गा उपयोगसम्बन्धी कार्यनीति, २०७९’ अनुसार समयमै आवश्यक निवेदन नदिएका संस्थाहरूको भोगाधिकार स्वतः समाप्त हुने व्यवस्था कार्यान्वयनमा आएपछि उक्त निर्णय गरिएको हो।
ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको नाममा रहेको जग्गामा नेकपा (एमाले) ले केही वर्षदेखि आफ्नो केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको थियो।
२०७२ सालको भूकम्पपछि बल्खुबाट विस्थापित भएको एमाले कार्यालय विभिन्न स्थान हुँदै च्यासल पुगेको थियो। तर अब सरकारी नीतिअनुसार पुनः स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ।


अनलाइन डबली

