
काठमाडौं । बडादसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र खुल्ने यस मन्दीर यस वर्ष पनि सबैका लागि खुला गरिएको हो ।
तलेजु भवानीलाई कर्नाट (नायर) वंशी राजा हरिसिंह देवले चौधौँ शताब्दीमा तलेजु उपत्यकामा आफु साथमा लिएर आएका थिए । नेपाल संंवत ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन तुग्लकले हरिसिंहको राज्य सिम्रौनगढ (बारा) मा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी आफ्नो इस्टदेवता तलेजु भवानी सहित भक्तपुरका राजा रुद्र मल्लको शरणमा आएको इतिहासमा उल्लेख छ।
तुलजाको अपभ्रंश भई तलेजु नाम रहन गएको हो। भक्तपुरपछि क्रमशः काठमाडौँ, पाटन र कीर्तिपुरका प्राचीन राजदरबारभित्र तलेजुका भव्य मन्दिर छन्। नेपालमा राज्य गर्ने राजाहरूले तुलजा भवानीलाई इष्टदेवी मान्ने गरेका छन्।
कलश स्वरूप तलेजु भवानी दरवार क्षेत्रभित्र ढुंगा छापेको चोक बीचमा सर्वाधिक सम्मानका १३ वटा गजुरयुक्त मन्दिर बनाई प्रतिस्थापित गराएका थिए । तत्कालिन राजा रुद्रमल्लकी बहिनी देवलदेवी कर्नाटक (नाएर) बंशी राजा हरिसिंह देवका पत्नी थिइन् ।
स्वर्गका राजा इन्द्रको कुलदेवताका रुपमा तलेजु भवानीलाई लिइन्छ । लोकोक्ति अनुशार रावणका छोरा इन्द्रजितले लडाईमा इन्द्रलाइ हाराएपछी साथमा तलेजुलाई लिएर आएको धार्मिक विस्वास रहिआएको छ ।
यक्ष मल्लको राज्य कालमा उपत्यका भित्र राज्य विभाजन भएपछी क्रमिक रुपमा आ-आफ्ना राज्य (काठमाडौँ, ललितपुर) मा तलेजु भवानीको स्थापना गर्नथालिएको थियो ।