
काठमाडौँ। वडा दशैँ असोज शुक्ल पञ्चमीका दिन आज पचली भैरव जात्रा गर्ने प्रचलन रही आएको छ । तामाको ठूलो घ्याम्पोमा भैरव खड्गधारी त्रिशूल, ढाल, विन्दु मुद्रामा देखिन्छन् भने टाउकोमा भगवान् बुद्धको शिरसहित अङ्कित छ तर घ्याम्पोभित्र जाँड, रक्सी भरी भव्य ढंगले कोंचाद्यो जात्रा गर्ने गरिन्छ । यो जात्रा दलाछीं, बकछें (इनाखाय), यङ्गाल, न्हुघः नायापाच्वःका ज्यापूहरूले पालैपालो बर्सेनि चलाउँने परम्परा रही आएको छ ।
महालक्ष्मी देवीले कलिगत संवत् ३८२५ मा राजा गुणकामदेवलाई सपनामा दिएको आज्ञामुताबिक काठमाडौं नगरवरिपरि अष्टमातृका स्थापना गरे । म्हेपीलाई मञ्जुश्री खड्गको शिर र पचलीलाई बौंड बनाई स्थापित पचलीभैरवलाई फर्पिङका राजाको रूपमा लिइन्छ ।
जात्राबारे प्रख्यात आख्यानुसार तन्त्रबलले सम्पन्न पचली प्रत्येक दिन काशीमा नुहाई टेकुस्थित नई अजिमा ( नायर वंशीय , खड्गी कन्या ) सँग प्रेमालाप गर्न रात बिताउँथे । एक दिन नई अजिमाका अभिभावकले थाहा पाएर कुटपिट गरी वर्तमानमा पचली-पीठ भएको ठाउँमा फ्याँकिदिएछन्, जहाँ पचलीभैरव र नई अजिमा दुवै सिद्ध भएको भन्ने विश्वास गरिन्छ।